
एमालेको गत माघ ९, १० र ११ गते पोखरामा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले २० बुंदे घोषण पत्र जारी गर्यो । ती २० बुंदा सवै एमालेका नेता कार्यकर्ताका लागि प्रतिवद्धताको रुपमा आएका थिए । पार्टीका कार्यक्रमहरुलाई भडकिला र अनावश्यक तामझाम पूर्ण नबनाउने, भद्धा कमिटि नबनाउने, सामुहिक निर्णय प्रणालीलाई अनुसरण गर्नेm आसनग्रहणको नाममा अतिथिको अनावश्यक भिड जम्मा नगर्ने, नेताहरुको स्वागत र सम्मानलाई सुहाउंदो र सरल बनाउने, दाउपेच होईन कमरेडली भन्ने भावनाका आधारमा संगठन सञ्चालन गर्ने लगायतका प्रतिवद्धता ती २० बुंदामा समेटिएका थिए । २० मध्ये ४ र ५ नं.मा एमालेद्धारा आयोजना गरिने कार्यक्रमहरुलाई कम खर्चिला र सरल बनाउने तथा नेताहरुको सम्मान र स्वागतलाई सामान्यीकरण गर्ने कुरामा लक्षित थिए ।
बुंदा नं. ४– “हामी औपचारिक कार्यक्रमहरूमा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । अतिथिहरूलाई लगाइदिने ब्याच, माला र खादाको अत्यधिक प्रयोगबाट हाम्रा कार्यक्रमहरू भद्दा एवम् खर्चिला भइरहेका छन् । हामी यस्ता परम्परा र मञ्चमा ठूलो संख्यामा अतिथिको भिड थुपार्ने र आसन ग्रहणमा मूल्यवान समय खेरफाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । हामीले अब प्रमुख अतिथि, सभाध्यक्ष र सीमित वक्तालाई मात्र मञ्चमा राख्ने , अरु सबै आमन्त्रित अतिथिहरूलाई दर्शकदीर्घामा नै राखी कार्यक्रम सञ्चालन गर्ने नयाँ संस्कारको विकास र अवलम्बन गर्नेछौं । ”
बुदां नं. ५ – “हामी हाम्रा आदरणीय नेताहरूको सामाजिक प्रतिष्ठा, सम्मान र इज्जतको अझ अभिवृद्धि गर्दै तद्अनुकूल सम्मानजनक व्यवहार गर्न सम्वेदनशील छौँ । तर नेताहरूलाई स्वागत गर्ने नाममा एयरपोर्ट र बसपार्कहरूमा अनावश्यक भिड जम्मा हुँदै व्यक्तिगत रूपमा नजिकिने आधार खडा गर्ने , अनावश्यक सामिप्यता दर्शाउने र त्यसैलाई सम्मान तथा मर्यादा गरेको ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सहमत छौँ । यस्तै प्रवृत्तिका आधारमा व्यक्तिको पदोन्नति गर्र्ने गलत अभ्यासलाई रोक्न समेत हामी जनसंगठनहरू कटिबद्ध छौं ।”
“नेताको अघि पछि लागेर काम लिने, साखुल्य हुने र मै मात्र हुं भन्ने प्रमाणित गर्न खोज्नु चाकडी सिवाय अरु केहि हुन सक्दैन् । नेताहरु पनि यस्तै चाकडीमा रमाईदिएपछि र नेतालाई भगवानकै रुप मानेर भजन भजाउनेहरुको असलीयत बुझेर पनि नेताहरुले बुझपचाईदिएपछि, १०० किलो भन्दा बढि तौलका मालाहरुको अपेक्षा स्वयम नेताहरुले गरिदिएपछि घोषणा पत्रहरु फाईलमा मात्र थन्किनु स्वभाविक नियति बनेको देखिन्छ ।”
तर एमाले र उसका नेता कार्यकर्ताले सो घोषणालाई एक दिन पनि कार्यान्वयनमा ल्याउन सकेनन् । वा एमाले नेता कार्यकर्ताले लागु गर्न चाहेनन । झापाबाट शुरु हुने मेची महाकाली अभियानमा गएका नेताहरुको स्वागत गर्न गएका एमाले कार्यकर्ताले विमानस्थलको नियम तोडेर धावन मार्गमा पुगेको समाचार र फोटोहरु सञ्चार माध्यममा आए । अन्य जिल्लाहरुमा समेत नेताहरुको सम्मान र स्वागतमा पुरानै तामझाम र भिडभाड हुने गरेका समाचारहरु आईरहेका छन् ।
नेता जिल्ला आउंदा विमानस्थलमा, जिल्ला प्रवेश गर्ने गेटमा माला सहित लामो लस्कर लिएर बस्ने प्रवृत्ति चाकडी हो भन्ने कुरा प्रस्ट छ । नेताको अघि पछि लागेर काम लिने, साखुल्य हुने र मै मात्र हुं भन्ने प्रमाणित गर्न खोज्नु चाकडी सिवाय अरु केहि हुन सक्दैन् । नेताहरु पनि यस्तै चाकडीमा रमाईदिएपछि र नेतालाई भगवानकै रुप मानेर भजन भजाउनेहरुको असलीयत बुझेर पनि नेताहरुले बुझपचाईदिएपछि, १०० किलो भन्दा बढि तौलका मालाहरुको अपेक्षा स्वयम नेताहरुले गरिदिएपछि घोषणा पत्रहरु फाईलमा मात्र थन्किनु स्वभाविक नियति बनेको देखिन्छ । अझ कतिसम्म अवस्था देखिन्छ भने जिल्लाका केहि नेता तथा कार्यकर्ता भनिएकाहरु अरु बेला पार्टी काममा कतै देखिन्नन, पार्टी कामप्रति कुनै सरोकार र वास्ता गर्दैनन तर जव केन्द्रका वरिष्ठ नेताहरु जिल्ला आउने चर्चा चल्छ अनि सवैभन्दा अग्रपङ्तिमा देखिएर निकै खटेको देखाउन र नेताका वरिपरि अरुलाई पर्न समेत नदिन लागि पर्छन् । जो पार्टी काममा ईमान्दारीताका साथ क्रियाशिल छन, जो पार्टी सदस्य र बस्ती सम्म पुगेर संगठनको काममा मेहनतका साथ काम गरिरहेका छन् उनीहरुले मुश्किलले वरिष्ठ नेताहरुसंग हात मिलाउन पाउंछन् ।
चुक्ली लगाउने र चाकडी गर्नेहरुको घेरामा परेका र आसेपासेको सेवामा रमाउने वरिष्ठ नेताहरुले ईमान्दार नेता र कार्यकर्तालाई कसरी चिनुन ? अनि कसरी कामको सहि मूल्यांकन होला र कार्यकर्तामा काम गर्ने जांगर र जोश वृद्धि होला ? अनि किन कार्यकर्ताहरु ईमान्दार र पार्टीप्रति वफादार बनिरहने ? कार्यकर्ताको मूल्यांकन कामका आधारमा कि चाकडी र गणेश प्रवृत्तिका आधारमा ? कुरा र दस्तावेज निम्न वर्गियको पक्षमा, मजदुरको पक्षमा, किसानको पक्षमा तर व्यवहार र नेताहरुको अपेक्षा किन राजाको भन्दा पनि उच्चकोटीको ? यी गम्भिर प्रश्न एमालेको राजनीतिक जीवनका लागि अहम सवाल हुन । पार्टीलाई जनताको मन मष्तिस्कमा बस्ने बनाउने हो भने यी प्रवृत्ति अन्त्य गर्नुपर्दछ । पार्टी सचिव योगेश भट्टराईले पोखरा घोषणको क्रममा र एक अर्को अन्तरवार्तामा पोखरा घोषणालाई लागु गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रश्न गरेका थिए, “अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति झि जिङपिङले कहिल्यै माला र खादा लगाएको देख्नुभएको छ ?” उनको भनाईको आशय के हो भने ठुला र प्रतिष्ठित व्यक्ति स्वभाविक रुपमा सम्मानित हुन्छन, उनीहरुलाई राजाको शैलीमा स्वागत सत्कार र लावालस्कर जरुरी छैन् । “दुनियाका सम्पन्न मुलुकको सभ्यता सामान्य छ तर हाम्रो जस्तो गरिव मुलुकका नेताहरुको सम्मान गर्ने, स्वागत गर्ने क्रममा सामन्ती संस्कार हावी भएको” कुरामा चिन्ता व्यक्त गर्दै भट्टराईले पोखरा घोषण पत्रको औचित्य पुष्टि गर्न खोजेका थिए ।
पोखरामा भएको भेलाले २० बुंदे महत्वपूर्ण घोषणा प्रतिवद्धताको रुपमा गडगडाहट तालीद्धारा पारित गरेको थियो तर कार्यकर्ता र पार्टी सदस्यहरु विच कामबाट लोकप्रिय बन्नुको सट्टा नेताको अघि पछि गर्ने प्रवृत्तिले ईमान्दारिता हैन चाकडीप्रथा, धुत्र्याइ र चुक्ली लगाउनेहरुको मनोवल बढाउने र वफादार कार्यकर्ताहरु निराश हुने परिदृश्य देखिन थालेका छन् । अरु दल र तिनको संगठन परिचालन भन्दा उत्तम ठहरिएको एमालेको काम कारवाही पनि देखावटी बन्ने मार्ग तर्फ उद्यत भएको देखिनु जनअपेक्षा विपरित हुनेछ ।
“कतिपय स्थानीय कार्यक्रमहरुमा जिल्लाबाट कुन कुन नेता सहभागी हुने योजना छ भन्ने कुरा कार्यक्रम स्थलमा पुगेपछि देखेर मात्र जानकारी हुन्छ । को आउने कार्यक्रम छ भन्ने कुरा आयोजक वा उपल्लो कमिटिलाई नै समेत जानकारी हुंदैन, व्यक्तिगत रुपमा आ आफनो सम्पर्कमा रहेका व्यक्तिलाई निमन्त्रणा गर्ने प्रवृत्ति हावी भएको छ ।”
कार्यकारी जिम्मेवारीमा रहेका, पार्टीको संगठन परिचालन गर्ने दायित्वमा रहेका कार्यकर्ताहरु भन्दा सम्मान र पार्टी संगठन भन्दा बाहिर पुग्न नदिन मात्र विभिन्न संरचनामा रहेका नेताहरुको भिडले गर्दा गाउं र बस्ती तहका कार्यक्रमहरु समेत बढि औपचारिक हुने गरेका छन् । जिल्ला तह भन्दा तल्लो तहका पार्टी कार्यक्रमहरुमा समेत अनावश्यक अतिथिको भिड जम्मा हुने र सवैले बोल्नै पर्ने प्रवृत्ति पछिल्ला दिनमा हावी हुंदै गएको देखिन्छ । जसले गर्दा मसिनो तरिकाले संगठनका काम हुन सकेका छैनन् । पार्टीको नियमावलीको अनुसूचि २ मा रहेको आचारसहिंताले कुन तहको नेता कुन तहसम्मका कार्यक्रममा अतिथिको रुपमा जान सक्ने भन्ने उल्लेख गरेको छ तर त्यो कसैले मानेको देखिन्न ।
कतिपय सन्दर्भमा कुनै निम्ताको पनि जरुरी पर्दैन, आफनै सूचना र सम्पर्कका आधारमा नेताहरु गाउंमा जाने शैलीका कारण गाउं गाउंसम्म गुट र उपगुट जन्मिरहेका छन् । कतिपय स्थानीय कार्यक्रमहरुमा जिल्लाबाट कुन कुन नेता सहभागी हुने योजना छ भन्ने कुरा कार्यक्रम स्थलमा पुगेपछि देखेर मात्र जानकारी हुन्छ । को आउने कार्यक्रम छ भन्ने कुरा आयोजक वा उपल्लो कमिटिलाई नै समेत जानकारी हुंदैन, व्यक्तिगत रुपमा आ आफनो सम्पर्कमा रहेका व्यक्तिलाई निमन्त्रणा गर्ने प्रवृत्ति हावी भएको छ । जसले गर्दा जिल्ला तहका नेताले केन्द्रका नेताको चाकडी गरे जस्तै गाउं तहका कार्यकर्ताहरुले जिल्ला तहका तथा विभिन्न जिम्मेवारीमा रहेका नेताहरुको चाकडी गर्ने प्रकृया दिन प्रति दिन संस्थागत हुंदै गएको देखिन्छ । आफनो अनुकुलताको वा आफना लागि सर सहयोग गर्ने व्यक्तिलाई कुनै पदिय जिम्मेवारीमा नभएपनि बोलाउने र आफनो खुवी देखाउने प्रवृत्तिका कारण संस्थागत मूल्य मान्यता र सांगठनिक प्रकृया र पद्धति भन्दा व्यक्तिवाद हावी हुंदै गएको छ ।
प्रश्न के हो भने नेताहरुले चाकडीको घेरा तोडेर यस्ता संस्कारहरु अन्त्य गर्न किन पहलकदमी लिन सक्दैनन् ? पार्टीको एक जना नेताले मात्र पनि पोखरा घोषणा पत्रको सम्मान गर्दै स्वागत सम्मान र अतिथि व्यवस्थापनको कामलाई सामान्यीकरण गर्न भनेको सुन्न पाईएको छैन् । आफु बाटै सुधारको थालनी गर्न खोजेको देखिएको छैन । हामी सामाजिक सांस्कृतिक रुपान्तरणको कुरा गरिरहेका छौं । रुढि र सामन्ती संस्कारहरु त्यागेर नयां संस्कृति र मान्यताहरु स्थापित गर्ने कुरा गरिरहेका छौं तर हामी स्वयम र हामी आवद्ध संघ संगठनहरुलाई रुपान्तरण गर्न सकेनौं भने हाम्रो अभियान र हाम्रा नारा कति पत्यारिला होलान् ? यी तमाम सवालको जवाफ अव घोषणा र प्रतिवद्धतामा हैन व्यवहारमा खोजेका छन सर्वसाधारणले र पार्टी कार्यकर्ताले । कुरा मात्र हैन व्यवहारबाटै विचार, विधि र आचरणका दृष्टिमा एमाले मुलुकको अगुवा पार्टी हो भन्ने स्थापित गर्नु आम एमाले कार्यकर्ताको दायित्व हो । बजेट, नीति र कार्यक्रमका दृष्टिले जनता माझ लोकप्रिय बन्दै गएको एमालेलाई संस्कारगत रुपमा राजकिय बन्नबाट सच्याउने हो भने हाम्रा प्रतिवद्धताहरुलाई व्यवहारमा लागु गर्न र चाकडीको घेरा तोड्न पहल गर्नु अनिवार्य छ । फागुन २३, २०७३





प्रतिकृया दिनुहोस्