Print

पर्वतमा बार्षिक १० हजार टन तरकारी उत्पादन, ४ सय जना कृषक ब्यवसायीक तरकारी खेतीमा

१७ फागुन, पर्वत । जिल्लालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने अभियान शुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले जिल्लालाई तरकारी खेतीलाई बृहत्तर योजनाको रुपमा विकास गराउँदै आगामी केहि बर्ष भित्रैमा आत्मनिर्भर बनाउने अभियान शुरु गरेको हो । हाल पर्वतमा १० हजार २ सय ५० टन तरकारी उत्पादन हुँदै आएको छ । कार्यालय दिएको जानकारी अनुसार जिल्लाका विभिन्न क्षेत्रमा गरी ८ सय २० हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका अहिले दुई दर्जन गाविसमा ब्यवसायीक तरकारी खेतीको शुरुवात गरिएको छ । विशेषगरी तरकारी खेतीमा विदेशबाट फर्केका युवाहरु लागीपरेका छन ।

‘तरकारी खेतीमा युवाको संख्या ठूलो छ’ कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी भन्छन–‘युवाको जोशले जिल्लामा केहि बर्षमा नयाँ परिर्वतन ल्याउनेछ’ विगतका बर्षहरुमा ब्यवसायीक तरकारी खेती न्यून हुने पर्वत जिल्लामा विगत ३ बर्ष देखि ठूलो मात्रामा तरकारी उत्पादन हुन थालेको रेग्मीले बताए ।
जिल्लाको पाङराङ, नाङलीवाङ, शालिजा, लेकफाँट, बनौ, बाजुङ, माझफाँट, धाइरिङ, कुश्मा नगरपालिका, बहाकी, लुंखु लगाएतका क्षेत्रमा झण्डै २ कृषक ब्यवसायीक कृषि कर्ममा लागेको कार्यालयले जनाएको छ । बर्षेनी करोडौ मूल्यको तरकारी बाहिरी जिल्लाबाट पर्वतमा भित्रदै आएकोमा त्यो दर क्रमशः न्यून हुदै गइरहेको बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले दाबी गरे ।

विशेषगरी पोखराबाट आउने तरकारी यतिबेला घटिरहेको छ । जिल्लामा उत्पादन बढाउँदा ठुलो रकम जिल्लामा बच्ने र ब्यवयासीक कृषकहरुको संख्यामा पनि बृद्धि हुने भएका कारण कार्यालयले ब्यवसायीकतामा प्राथामिकता दिएको रेग्मीले बताए । मुख्य गरी आलु, टमाटर, काउली, बन्दा, गाँजर, मुला तथा करेला जिल्लामा ठूलो मात्रामा उत्पादन हुदै आएको कार्यालयले जनाएको छ ।

जिल्लाका केहि उत्पादनहरु बाहीरी जिल्लामा पनि खपत हुने गरेको बताउँदै रेग्मीले जिल्लाको आर्थिक विकासमा कृषि क्षेत्रको ठूलो योगदान गरेको बताए । कुल मागको अझै पनि ३० प्रतिशत भन्दा बाहिरबाट तरकारी आयात हुँदै आएको छ ।

बाहिरबाट आयातसंगै जिल्लाको उत्पादन पनि निर्यात भईरहेको कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा कृषि सहकारी संस्थाको स्थापना गरी युवा जमात सामूहिक तरकारी खेतीमा पनि लागीरहेका छन । सदरमुकाम कार्यालय रहने गरी स्थापना भएका सहकारीहरुले करोडौको पुँजी समेत कृषि सहकारीमा लगानी गरीरहेका छन । कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार कृषि सहकारी मार्फत तरकारी खेतीको पनि पछिल्लो समयमा प्रवद्र्धन कार्य सन्तोषजनक देखिन्छ । जिल्लामा हाल दर्जन कृषि सहकारीहरु क्रियाशिल छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस