२९ माघ, पर्वत । करोडौ रकम खर्च गरेर स्वास्थ्य चौकीको भवन त बन्यो । भवन बनेपनि खानेपानीका लागि गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता छ, जिल्लाको चित्रेमा अवस्थित स्वास्थ्य चौकीमा । २ करोड भन्दा बढि रकम खर्च गरेर भवन निर्माण भएपनि खानेपानीको दीर्घकालीन प्रवन्ध हुन नसक्दा स्वास्थ्य चौकीमा पानीको अभाव हुने गरेको हो ।
पानीको अभाव हुँदा सेवा पनि प्रभावित भएको स्वास्थ्य चौकीका सिनियर अहेव टेकबहादुर घर्ति बताउँछन । अस्थायी रुपमा खोल्साबाट पानीको प्रयोग गरेपनि दीर्घकालीन रुपमा पानीको श्रोतलाई स्वास्थ्य संस्थासम्म ल्याउन नसक्दा सेवा प्रभावित भईरहेको उनले बताए । झण्डै १ किलोमिटरको दुरीमा पानीको मूहान भएपनि त्यसलाई स्वास्थ्य चौकीसम्म ल्याउनका लागि बजेटको अभाव भएका कारण खानेपानीको समस्या परेको उनको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. फणिन्द्र बरालले स्वास्थ्य संस्था जस्तो संवेदनशिल संस्थामा पानीको अभाव हुँदा ड्रेसिङ र सरसफाई जस्ता कार्यमा प्रत्यक्ष प्रभाव पर्ने बताउँछन । कार्यालयसंग पानी ब्यवस्थापनको लागि आवश्यक बजेट नहुँने हुँदा बजेट विनियोजनका लागि स्थानीय निकायहरुसंग आफूले अनुरोध गरेको बताए । भवन निर्माणको योजनामा खानेपानी ब्यवस्थापनको लागि बजेट विनियोजन नहुँने हुँदा उक्त स्वास्थ्य संस्थामा खानेपानीको समस्या परेको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर ढुंगाना बताउँछन । पानी ब्यवस्थापनका लागि जिल्ला विकास समितिसंग आफूहरुले अनुरोध गरेको उनले बताए ।
उता, स्थानीय विकास अधिकारी युवराज पौडेलले स्वास्थ्य चौकीको अनुगमन पछि खानेपानी ब्यवस्थापनका लागि आफूले प्रयास गर्ने बताए पनि तत्काल ब्यवस्थापन नहुँदा खानेपानीको समस्या यथावत हुने अध्यक्ष ढुंगाना बताउँछन । स्वास्थ्य केन्द्र नजिक स्थानीयको घरहरु नभएका कारण पनि उक्त स्थानमा खानेपानीको दीर्घकालीन ब्यवस्थापन गर्न समस्या परेको स्थानीय विकास अधिकारी पौडेलले बताए । संवेदनशिल संस्थाहरुमा सरसफाई देखि अन्य प्रयोजनको लागि पनि पानीको ब्यवस्थापन हुनुपर्ने भन्दै उनले स्वास्थ्य चौकीमा खानेपानी ब्यवस्थापनका लागि आफूले प्रयास गर्ने आश्वासन दिए । जिल्लाका अन्य गाविसहरुमा पनि स्वास्थ्य केन्द्रका अत्याधुनिक, महंगा भवन बनेपनि केहि स्थानहरुमा अझै पनि खानेपानीको उचित ब्यवस्थापन हुन सकिरहेको छैन ।





प्रतिकृया दिनुहोस्