२५ साउन, पर्वत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुश्मा नगर समितिको आयोजनामा ूकक्षा १(५ पाठ्यक्रम प्रबोधीकरण तथा मूल्याङ्कनू सम्बन्धी दुई दिने कार्यशाला यहि श्रावण २३ र २४ गते कुश्मामा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन सत्र सङ्गठनका राष्ट्रिय समिति उपाध्यक्ष गोविन्द भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो भने अध्यक्षता नगर समिति अध्यक्ष झलक पौडेलले गरेका थिए।
उपाध्यक्ष भण्डारीले यस्ता कार्यक्रमले शिक्षकहरूको पेशागत अभिवृद्धि हुनुका साथै शिक्षकहरूमा एकताको भावना विकास हुने बताए।
विशिष्ट अतिथिका रूपमा सङ्गठनका राष्ट्रिय समिति सदस्य तथा पर्वत इन्चार्ज नवराज भुसाल, जिल्ला अध्यक्ष सुरेन्द्र शर्मा गौतम, प्रदेश समिति सदस्य इन्द्र प्रसाद शर्मा, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नगर कमिटी अध्यक्ष किशोर सापकोटा लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नगर समिति सचिव दामोदर पौडेलले गरेका थिए।
दुई दिने कार्यशालाको समापन कुश्मा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं। ६ का वडाध्यक्षको प्रमुख आतिथ्यतामा भएको थियो। उनले शैक्षिक गतिविधिसँग जोडिएको कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम सम्बन्धित पालिकाहरूले अनिवार्य रूपमा गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कुश्मा नगर शिक्षा समिति सदस्यहरू वसन्त बहादुर सिके, मेघनाथ आचार्य र फलेवास नगर शिक्षा समितिका अर्जुन कुमार रेग्मी लगायतको उपस्थिति थियो।
नगरभित्रका निजी तथा सामुदायिक विद्यालयबाट १३२ जना शिक्षकको सहभागिता रहेको थियो। कार्यशालामा शिक्षकद्वय ओमकार पौडेल र सन्तोष रिजालले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा सहभागीहरूले कार्यशालाबाट सिकेका कुरा कक्षाकोठामा लागू गर्न सकेमा विद्यार्थीहरूको शैक्षिक अभिवृद्धिमा टेवा पुग्ने धारणा राखेका थिए।




