१३ असार, पर्वत । मोदी गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने मेलमिलापकर्ता तालिम शनिबारदेखि सुरु भएको छ।
तालिममा गाउँपालिकाका विभिन्न वडाका मेलमिलापकर्ता तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको छ। तालिमको सहजीकरण वकालत मिडिया प्रा.लि. ले गरिरहेको छ भने अधिवक्ता दिलिप पौडेल मुख्य सहजकर्ताका रूपमा प्रशिक्षण दिइरहेका छन्।
उद्घाटन सत्रको अध्यक्षता नन्दमाया पुन ले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा ले स्थानीय तहमा विवाद समाधानका लागि मेलमिलाप प्रणाली प्रभावकारी माध्यम भएकाले दक्ष मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
उहाँले तालिमबाट सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा न्यायमा सहज पहुँच स्थापित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष विमल लामिछाने ले मेलमिलाप संस्कृतिको विकासले सामाजिक सद्भाव कायम राख्न तथा साना–ठूला विवाद स्थानीय स्तरमै समाधान गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाँले तालिमबाट सहभागीहरूको क्षमता अभिवृद्धि भई न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन वकालत मिडिया प्रा.लि. का सन्तोष थापा ले गर्नुभएको थियो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था, विवाद व्यवस्थापन, प्रभावकारी संवाद, मध्यस्थता प्रक्रिया तथा व्यवहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
तालिमले स्थानीय स्तरमा विवादको शान्तिपूर्ण तथा दिगो समाधानका लागि मेलमिलापकर्ताहरूको क्षमता सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




