Print

वडा सदस्यकाे निधन : कुश्मा नगरपालिकामा शोक विदा

१९ जेठ, पर्वत । कुश्मा नगरपालिकाका वडा नं. १४ का वडा सदस्य (नगर सभा सदस्य) केशव प्रसाद पौडेलको सवारी दुर्घटनामा परी असामयिक निधन भएको छ।


कुश्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा जारी शोक सूचनाअनुसार, २०८३ असार १८ गते कुश्माबाट अर्थुंगतर्फ जाँदै गर्दा सोडे–गोडाको भिर क्षेत्रमा भएको जिप दुर्घटनामा परी पौडेलको निधन भएको हो। उनको निधनको खबरले सम्पूर्ण कुश्मा नगरपालिका परिवार स्तब्ध तथा मर्माहत भएको जनाइएको छ।
नगरपालिकाले दिवंगत पौडेलले समाज र राष्ट्रप्रति पुर्‍याएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजन तथा आफन्तमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि व्यक्त गरेको छ।


यसैबीच, कुश्मा नगरपालिकाले शोकको अवसरमा २०८३ असार २० गते बुधबार नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा (आकस्मिक सेवा बाहेक) शोक विदा दिने निर्णय गरेको जनाएको छ।


उक्त सूचना प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलद्वारा जारी गरिएको हो।