१९ जेठ, पर्वत । सोमबार बेलुका भएको जीप दुर्घटनामा कुश्मा नगरपालिकाका निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । कुश्मा नगरपालिका वडा न १४ आर्थरडाँडाखर्कका निर्वाचित वडा सदस्य केशव पौडेलको दुर्घटनामा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका पौडेललाई उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा लगिएको थियो । उपचारको क्रममा अस्पतालले पौडेललाई मृत घोषणा गरेका थिए ।
पाैडेल २०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेकाे तर्फबाट वडा सदस्य पदमा बिजयी भएका थिए ।
नेकपा एमाले वडा कमिटीका उपाध्यक्ष समेत रहेका पाैडेल विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध थिए ।
सोमबार बेलुका करिब ८ः४० बजे वडा कार्यालय आर्थरबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको बोलेरो पिकअप जिप अचानक सडकबाट करिब ५ सय मिटर तल खसेको हो ।
यात्रुहरूलाई गन्तव्यमा छाडेर चालक घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप चालक करिब २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन् ।





