२ जेठ, पर्वत । मोदी गाउँपालिका–६ तिलाहारस्थित लक्ष्मीपुर युवा क्लबको आयोजनामा सम्पन्न खुल्ला वडास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले खेलकुदले दक्ष, अनुशासित र जिम्मेवार जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामिछानेले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई युवाहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासको आधार भएको उल्लेख गरे। उनले खेलकुदमार्फत नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन, सहकार्यको भावना तथा प्रतिस्पर्धी सोचको विकास हुने बताए ।
उनले युवाहरूलाई कुलत, दुर्व्यसन तथा नकारात्मक गतिविधिबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम भएको भन्दै स्वस्थ समाज निर्माणका लागि खेलकुद गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गरे। “खेलकुदले स्वस्थ नागरिक उत्पादन गर्छ, स्वस्थ नागरिकले समृद्ध समाज निर्माण गर्छन्” उनले भने ।
उपाध्यक्ष लामिछानेले ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताउँदै स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग र प्रोत्साहन प्रदान गर्दै आएको जानकारी दिए। उनले खेलकुदबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान स्थापित गर्न सकिने भएकाले युवाहरूलाई खेल क्षेत्रमा सक्रिय सहभागिता जनाउन आग्रह गरे ।
लक्ष्मीपुर युवा क्लब, मोदी–६ तिलाहारको आयोजनामा भएको खुल्ला वडास्तरीय भलिबल प्रतियोगितामा विभिन्न वडाका १५ टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय युवाबीच आपसी सद्भाव, भाइचारा तथा सामाजिक एकतालाई थप मजबुत बनाएको क्लबका अध्यक्ष सुरज पुरीले जानकारी दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा विभिन्न वडाबाट आएका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





