Print

आर्थर जीप दुर्घटना : १ जनाकाे मृत्यु, २ जना घाइते

१९ जेठ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरस्थित अँधेरीनेटामा सोमबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार गएराति करिब ८ः४० बजे वडा कार्यालय आर्थरबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको बोलेरो पिकअप जिप अचानक सडकबाट करिब ५ सय मिटर तल खसेको हो। यात्रुहरूलाई गन्तव्यमा छाडेर चालक घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कुश्मा नगरपालिका–१४ आर्थरका करिब ५२ वर्षीय केशवराज पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै जिप चालक करिब २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। दुवै जनाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठुलीपोखरीबाट प्रहरी सहायक निरीक्षक राजेश गुरुङको कमाण्डमा टोली खटिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।