२० फागुन, पर्वत । भोली हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार मतदानको सम्पूर्ण तयारी पुरा भएको हो । निर्वाचन केन्द्रहरुको सुरक्षा तथा निर्वाचन केन्द्रहरुको ब्यवस्थापनका काम सकिएको छ । सुरक्षाकर्मी तथा कर्मचारीका टिम जिल्ला भरका ७६ वटा मतदान स्थलहरुमा पुगिसकेका छन् । जिल्ला भर कुल १५१ मतदान केन्द्रहरु रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । कुल १२ सय कर्मचारी उक्त निर्वाचनमा परिचालित भएका छन् ।
पर्वत जिल्लामा मुख्य गरी त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिन्छ । एमालेका उमेदवार पदम गिरी, कांग्रेसका उमेदवार अर्जुन जोशी र रास्वपका उमेदवार सागर भुषाल चुनावी मैदानमा छन् । यसैगरी नेपाली कम्युनिष्ट पाटीका उमेदवार मनोहरी तिमिल्सीना सहित कुल १७ जना उमेदवारले यो निर्वाचनमा पर्वत जिल्लाबाट प्रतिस्पर्धा गर्दैछन् ।
निर्वाचनमा प्रतिस्पर्धी बनेका एमालेका गिरी र कांग्रेसका जोशी वीच यो तेस्रो प्रतिस्पर्धा हो । उनीहरु मध्ये जोशीले ३ पटक यस अघि निर्वाचन जितेका छन् भने २ पटक निर्वाचन जितेको गिरीसंग अनुभव छ । इमान्दार र स्वच्छ छवि प्रकट गर्दै स्वास्थ्य तथा कानून मन्त्रीको जिम्मेवारी समेत सम्हालेका गिरी यो निर्वाचन क्षेत्रका बलिया उमेदवार हुन् । उनले यो निर्वाचनमा पर्वतको कुश्मा नगरपालिका वडा न ३ दुलर््ुंङमा रहेको काफलचौर मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
चौथो जीतको खोजीमा रहेका कांग्रेसका जोशी पछिल्लो २ वटा निर्वाचनमा उपविजेता बनेका थिए । उनले भोली कुश्मा नगरपालिका वडा न ४ मा रहेको नारायण मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसै गरी रास्वपका उमेदवार सागर भुषाल भने पहिलो पल्ट निर्वाचनको दौडमा छन् । उनले भोली हुने निर्वाचनमा फलेवास नगरपालिका वडा न ६ देविस्थानमा रहेको जनता मावि देविस्थामन मतदात केन्द्रबाट मतदान गर्नेछन् ।
यसैगरी नेपाली कम्यूनिष्ट पाटीबाट उमेदवार बनेका मनहरी शर्माले पोखरा महानगरपालिका वडा न ९ स्थित महेन्द्र मावि मतदान केन्द्र नयाँबजारबाट मतदान गर्नेछन् । तिमिल्सीनाले कास्की जिल्लाबाट मतदान गर्ने भएका कारण उनले आफूलाई भने मत हाल्न नपाउने भएका हु्न् । रापप्राबाट उठेका दुर्गाबहादुर मल्लले पाखापानी स्थित स्वधर्म माविबाट मतदात गर्दैछन् ।




