२५ माघ, पर्वत । बहुप्रतिक्षित कालीगण्डकी लोकमार्ग अन्तर्गतको देविस्थान र कुर्घा जोड्ने लमायखोला मोटरेवलपुल आज देखि सञ्चालनमा आएको छ । लोकमार्ग अन्तर्गत निर्माण कार्य शुरु भएको झण्डै ७ बर्षमा उक्त पुलको निर्माण कार्य सम्पन्न भएको हो ।
दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । निर्माण कार्य शुरु भएको उक्त मोटरेवल पुलको निर्माणको विभिन्न चरणहरुमा प्राविधिक समस्या आएपछि निर्माण कार्य पटक पटक अवरुद्ध बनेको थियो ।
पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । पच्चीस मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको थिएन । निर्माण कार्यका विभिन्न चरणहरुमा भएका समस्याहरुका कारण निर्माण ब्यवसायीले पटक पटक निर्माण कार्य वीच मै छोड्ने गरेका थिए ।
निर्माण कार्य शुरु भएको ७ बर्षपछि उक्त मोटरेवल पुल सञ्चालनमा आएसंगै स्थानीयबासीले खुशी ब्यक्त गरेका छन् । स्थानीयबासी उपेन्द्र गौतम भन्छन् – पुलसञ्चालनमा आएसंगै फलेवास ढिकको ब्यवसाय पूर्ववत अवस्थामा फर्कनेछ । स्थानीयबासीसंगै यो पुल हुँदै यात्रा गर्ने सवारी साधनहरुलाई झण्डै १० किलोमिटर भन्दा बढि सडक छोटो पर्ने भएको छ । यस अघि उक्त मोटरेवल पुल नहुँदा लिमिठानाको चिर्दिखोला हुँदै सवारी साधनहरु आवातजावत गर्ने गर्दथे ।
पुल निर्माण भएसंगै कालीगण्डकी लोकमार्ग हुँदै हिड्ने सवारी साधनहरुको यात्रा समय र यात्रा दुरी समेत घटेको छ । योसंगै कालीगण्डकी लोकमार्गका मुख्य मोटरेवल पुलहरुको निर्माण कार्य सकिएको छ । सोहि खण्डमा बाच्छा खोलामा भने मोटरेवल पुल निर्माणको लागि बजेट ब्यवस्थापन प्रक्रियामा छ ।




