गोविन्द पहाडी
गायकको काम गीत गाउने हो । चिकित्सकको काम विरामीको उपचार गर्ने हो । फिल्मी कलाकार तथा निर्माताको काम फिल्म मार्फत व्यापार गर्नु तथा मनोरञ्जन दिनु हो । कर्मचारीको काम तोकिए बमोजिम सरकारका नीति, बजेट कार्यान्वयन गर्ने हो । व्यापारी, उद्योगपतीको काम वस्तु तथा सेवा ग्राहकलाई उपलब्ध गराउनु हो । पत्रकारको काम सञ्चार माध्यम मार्फत जनतालाई सत्य तथ्य सूचना प्रवाह गर्नु हो । खेलाडीको काम आफनो खेल मार्फत आफनो र देशको नाम रोशन गर्ने हो । अधिकारकर्मीको काम नागरिक अधिकार हनन हुँदा आवाज उठाउने हो । न्यायाधिसहरुको काम न्याय सम्पादन गर्नु र सर्वोच्च अदालतका न्यायाधिस तथा प्रधान न्यायाधिसले तोएिका केहि संवैधानिक आयोग वाहेक अन्य कुनै निकायमा नियुक्त लिन नमिल्ने संवैधानिक व्यवस्था गरिएको छ ।
राजनीति गर्नेहरुले देशलाई सामन्तवादी व्यवस्थाबाट जनतन्त्र ल्याउनका लागि राजनीतिक दल तथा संगठन मार्फत आन्दोलन र अभियान सञ्चालन गरेका हुन्छन् । नेपालको सन्दर्भमा एकतन्त्रणीय राणाशासन अन्त्य गर्न, जन्मिएपछि राजा हुन पाउने निरंकुश पञ्चायत व्यवस्था विरुद्ध लड्दा जेल भोगे, यातना भोगे, भागेर देश बाहिर गएर लुकेर बसेर संगठन गरे । अनेक कष्ट, यातना र अवरोधका वावजुद नेपाली जनतालाई स्वतन्त्र बनाउन, जनताको शासन ल्याउन तथा देशमा लोकतन्त्र ल्याउनका लागि राजनीतिक दलका नेता कार्यकर्ताले थुप्रै बलिदानी, त्याग र योगदान गरेका छन् ।
आज समाजमा राणाशासन भोगेका हजुरबा हजुरआमा पुस्ता, पञ्चायतको निरंकुशताको भुक्तमान देखेका र भोगेका बा आमा पुस्ता तथा २०६२÷०६३ का बेलामा गणतन्त्र ल्याउन भएका संघषर््ा र बलिदानी प्रत्यक्ष देखेका र भोगेका दाई दिदी पुस्ता ज्यूदै छन् । आज हामीले उपभोग गरिरहेका अभिव्यक्ति स्वतन्त्रता, राज्यका विभिन्न संरचनामा समावेशी समानुपातिक सहभागिताको सुनिश्चितता, शिक्षा र सूचना प्रविधिमा भएको विकास, भौतिक पुर्वाधार विकास, गरिव दलित, आदिवासी, मधेशी, मुश्लिम, अल्पसंख्यकको पक्षमा बनेका कानुन र सो अनुसार उपलब्ध आरक्षण तिनै तिन पुस्ताको लडाई, बलिदानी, संघर्ष र अथक प्रयत्नबाट हासिल भएका हुन् भन्ने बिर्सनु गलत हुन्छ ।
हो, भनेजस्तो गति र विधिमा देश अगाडी बढेन की, सुशासनको मुद्धा ओझेल पर्यो की, योग्यतातन्त्र भन्दा विभिन्न आग्रह पुर्वाग्रहहरु हावी भए की भन्ने प्रश्न उठ्नु स्वभाविक हो र थप विकास र प्रगतिका लागि प्रश्न निरन्तर गरिनुपर्छ । राजनीतिक, प्रशासनिक र अगुवाहरु प्रश्नबाट भाग्न मिल्दैन् । जनताले आफना जिज्ञासा र प्रश्नको उत्तर पाउनु नै लोकतन्त्र हो । जनताका प्रश्न र जिम्मेवार व्यक्ति वा निकायको जवाफदेहिता विचको सवन्ध नै लोकतन्त्रको प्राण हो ।
तर हामी सवैलाई नेता हुने भोक जागेको छ । हामी सवैलाई ठालु हुनु परेको छ, सवैलाई कुर्चिमा पुग्ने रहर जागेको छ । गफ दिएर, स्टनवाजी गरेर, हावादारी कुरा गरेर, रहर, आवेग, उत्तेजना सृजना गरेर जसरी पनि पद, पावर र पहिचान चाहिएको छ । देशलाई थप अस्थिरता र अन्यौलता तर्फ धकेल्न नखोजौं ।
सवैले आ आफनो भूमिकामा रहेर कर्म गरौं । सवैले राजनीति गर्न खोजेर, नेता हुन चाहेर देश बन्दैन् । राजनीति गर्न परिपक्वता, अनुभव, सुझबुझ, धैर्यता, राज्य सञ्चालनको क्षमता, त्याग, योगदानको पृष्ठभूमि आवश्यक हुन्छ । आवेगमा, रहरले मात्र नेता हुन सकिंदैन् । टेलिभिजनमा प्रत्यक्ष फुटवल खेल हेरिरहेको व्यक्तिलाई गोल पोष्ट नजिकै पुगेर पनि बल गोलपोष्टमा छिर्न नसक्दा मैले भएको भए दाहिनेतिरबाट हानिदिन्थें, गोलकिपर उतातिर थियो, यताबाट बल छिराईदिन्थें भन्ने लाग्छ । स्ट्राईकरले खुव मेहनत गरेर बल पोष्ट नजिक लगेको हुन्छ, प्रतिस्पर्धी टिमका खेलाडीले अवरोध गरिरहेका हुन्छन् । सोफामा बसेर खेल हेर्ने दर्शकलाई खेल मैदानमा पठाउने हो भने गोल गर्ला त ? त्यस्तै जस्तो यतिबेला सवैलाई नेता हुन, देश बनाउन, सुशासन ल्याउन रहर जागेको छ । एकैरातमा देश विकसित मुलुक बनाउन सकिन्छ , सुशासन त जादुको छडि झैं आईहाल्छ । छु मन्तर गर्नासाथ नेपालको वर्तमान व्यवस्थाभित्रको कर्मचारीतन्त्र, प्रहरी, प्रशासन, नागरिक चेतना, न्यायालय सवै ठिकठाक भैहाल्छ झैं गरि सपना बाँडिदैछ ।
देशलाई समृद्ध बनाउनुपर्नेछ, सुशासन जसरी पनि कायम गर्नुपर्नेछ, रोजगारी हरहालत सृजना गर्नुपर्नेछ, विधिको शासनविना सेवा प्रवाह चुस्त हुने अवस्था छैन् । योग्यतातन् त्रलाई सवै सरकारी तथा नीजि क्षेत्रमा अनिवार्य रुपमा लागु गर्नुपर्नेछ । यी आम नागरिकका मुद्धा हुन् । यो नागरिक भावना अनुसार सवै चल्नुपर्दछ । यी मुद्धाका क्षेत्रका केहि काम नभएको पनि हैन् । भैरहेको पनि छ । अपेक्षाकृत हुन नसकेको मात्र हो । यी नागरिक भावनालाई गलत प्रयोग गरि रातारात चमत्कार गरिदिन्छौं झैं गरि सवैलाई नेता हुने भोक जुन प्रकारको जागेको छ यो झन ठुलो समस्या बन्नेवाला छ ।
भारतीय चर्चित अभिनेता अमिताभ बच्चन यस्तै रहरै रहर र भावनामा बगेर संसदीय निर्वाचन उम्मेदावर बने, एकजना चर्चित राजनीतिज्ञलाई पराजित गरे तर विजयी भएको ३ महिनामा नै उनले “मैले राजनीति गर्ने रहेनछ, म कलाकारीतामा नै फिट रहेछु ” भनेर राजीनामा गरेका थिए । देश समृद्ध बन्न, सुव्यवस्थित बन्न समाजका सवै तह र पक्ष आ आफना मुल्य र मर्यादामा चल्नुपर्दछ । सवैले आ आफनो पेशा, व्यवसाय र कर्म गरौं । सवैले राजनीति नै गर्दछु, नेता नै हुन्छु, म विना त कसैले केहि नगर्ने भए भन्ने दृष्टिकोण नराखौं । चिकित्सकको उपचार सोचेजस्तो भएन भनेर सामान्य नागरिक डाक्टर बन्न खोज्नु हुन्न, स्वयम चिकित्सकले नै थप मेहनत गर्ने वा अध्ययन गर्ने हो । त्यस्तै कुन कलाकारको फिल्म राम्रोसँग चलेन भनेर कुनै राजनीतिक नेता अभिनेता बन्न खोज्नु स्वभाविक बन्दैन् । बजारमा उपलब्ध हुने खाद्य वस्तु गुणस्तरिय भएन भनेर विना लगानी, विना अनुभव, विना उद्यमशिलता उद्योगी बन्छु भनेर आम नागरिकले सोच्नु मुर्खता मात्र हुन्छ ।
निर्वाचन आयोगमा १४३ वटा दल दर्ता भए । यो तथ्याकले हामी एकले अर्कालाई विश्वास गर्दैनौं, मान्दैनौं, सवैलाई नेता, साँसद, मन्त्री बन्नु परेको छ भन्ने बताउँछ । हामी देश बनाउने भन्दा थप झण्झट पैदा गर्ने, अन्तरविरोधहरु सृजना गर्ने, नागरिकहरुलाई विभिन्न बहानामा विभाजित गर्ने, सामाजिक अराजकता फैलाउने, अभिव्यक्ति स्वतन्त्रताका नाममा अश्लिल स्वच्छन्दतालाई प्रश्रय दिने तर्फ उद्यत छौं ।
देश बनाउने हुटहुटी हुनु स्वभाविक हो तर संयमित भएर राष्ट्र, राष्ट्रियता, संविधान र लोकतन्त्रका सवाल तथा देश निर्माणका मुद्धामा साझा सहमती कायम गर्नुको विकल्प छैन् ।
कुश्मा




