२३ माघ, पर्वत । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)का उमेदवारले पैयू र विहादीमा घर दैलो अभियान सम्पन्न गरेका छन् । एमालेको तर्फबाट उमेदवार बन्नुभएका पूर्व मन्त्री पदम गिरीले पैयू र विहादीका सवै वडाहरुमा पुगेर स्थानीयबासीसंग भेटघाट गर्नुभएको छ ।
निर्वाचन लक्षित उक्त भेटघाटमा गिरीले आफ्नो ८ बर्षे कार्यकालमा पर्वतमा भएका विकास निर्माणका कामहरुबाट जनता उत्साहित रहेको बताउनुभएको छ । संघीय सरकारमा २ पटक मन्त्री र संसदीय दलको प्रमुख सचेतको जिम्मेवारी निर्वाह गर्नुभएका गिरी तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ ।
विघटीत प्रतिनिधि सभाका सांसद समेत रहनुभएका गिरीले जिल्लालाई विकासको गतिमा लैजानका लागि पुनः आफू चुनावी मैदानमा होमिएको बताउदै आउनुभएको छ । माघ १९ गते पैयूबाट शुरुवात भएको एमालेको घरदैलो अभियान अन्तर्गत आज देखि जलजलामा शुरु भएको छ । जलजलाको मल्लाज, लेकफाँट र शालिजा क्षेत्रमा पुगेर सांसद गिरीले सडक पूर्वाधारमा अझै केहि काम यी क्षेत्रमा गर्न रहेको बताउनुभएको छ ।
पूर्व मन्त्री गिरीसंगै समानुपातिक तर्फका एमालेका उमेदवार संविधान सभा सदस्य कल्पना चापागाई तथा मनोहर वि. पौडेल सहितका एमालेका नेताहरु घरदैलो अभियानमा ब्यस्त रहेका छन् ।




