Print

कांग्रेसको बिशेष महाधिवेशन पक्षमा पर्वतमा को–को खुले ? (नामावली सहित)

२५ पौष, पर्वत । नेपाली कांग्रेसको आन्तरीक विवादका कारण अहिले विशेष महाविधेशन हुने या नहुने भन्ने विवाद चुलिएको छ । कांग्रेस महामन्त्रीद्धयले आब्हान गरेको विशेष महाधिवेशनमा गणपुरक संख्या बहुमत नपुराउने होडमा संस्थापन पक्ष लागेको छ । उता, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्मा भने विशेष महाधिवेशन गरेरै छाड्ने दाउमा लागेका छन् । यहि वीचमा पौष २७ गते देखि काठमाण्डौंमा विशेष महाधिवेशनमा सहभागी हुन र नहुन दुवै पक्षले आब्हान गरीरहेका छन् । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका भनिएका ५४ प्रतिशत प्रतिनिधि सहभागी हुन्छन या हुँदैनन त्यसको लागि पौष २७ गते कुर्नपर्छ ।

एता, पर्वत जिल्लाका २७ जना महाधिवेशन प्रतिनिधि भने को कता छन भनेर जोड घटाउ शुरु गरिएको छ ।

कांग्रेस श्रोतले पर्वतबाट विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या थोरै हुने बताए पनि केहि सञ्चार माध्यमले भने त्यसको खण्डन गरेका छन् । कांग्रेस श्रोतका भिन्न भिन्न तर्कका वीचमा जिल्ला सभापति युवराज जोशी सहित २ जना क्षेत्रीय सभापतिहरु र ६ वटा पालिका सभापतिहरुले बिशेष महाधिवेशनको पक्षमा बक्तब्य नै जारी गरेका छन् । उनीहरुले बक्तब्य जारी गरे पनि महाधिवेशन प्रतिनिधिहरु भने अधिकांश सामाजिक सञ्जालमा अझै खुलेर बोल्न सकेका छैनन् । जिल्लाको तर्फबाट केन्द्रिय सदस्य बनेका अर्जुन जोशीले विशेष महाधिवेशनको पक्षमा लबिङ गरेको देखिन्छ । उनी नेतृत्व परिर्वतनको पक्षमा केन्द्रिय सदस्यहरुको भेलामा सहभागी भएका छन् ।

पर्वतबाट विशेष महाधिवेशनको पक्षमा सामाजिक सञ्जालमा खुलेर लेखेका ५ जना मात्रै महाधिवेशन प्रतिनिधि भेटिएका छन् । उनीहरु मध्ये सभापति युवराज जोशी, महाधिवेशन प्रतिनिधिहरु राधाकुमारी कुवँर क्षेत्री, डाक्टर केदार सुवेदी, लेखनाथ पौडेल, सनाम बेगमले सामाजिक सञ्जालमा विशेष महाधिवेशनको पक्षमा वकालत गरेका छन् । कांग्रेस श्रोतका अनुसार तोरण मल्ल ठकुरी ‘राज, खैसरा दर्जी र खगेन्द्रप्रसाद तिवारी समेत विशेष महाधिवेशनको पक्षमा खुलेको बताइन्छ । यस अघि हस्ताक्षर गर्नेहरुको आधिकारीक विवरण सार्वजनिक नभए पनि श्रोतहरुले पर्वतमा बहुमत संख्या विशेष महाधिवेशन इतर रहेको दावी गरेका छन् ।

कांग्रेस भित्र ३ धार भएका कारण पनि महाधिवेशन प्रभावित भएको देखिन्छ । गगन पक्षधरसंगै संस्थापन देउवा र शेखर पक्षका नेताहरु समेत पर्वतमा छन् । निर्णायक शक्तिको रुपमा रहेको शेखर पक्षका नेताहरु अहिले मौन बसेको देखिन्छ । २७ गते विहानसम्म उनीहरुको धारणा सार्वजनिक हुनेछ । यसो हुँदा पर्वतको अंक गणित परिर्वतन हुनसक्छ । शेखर पक्षका महाधिवेशन प्रतिनिधिहरुमा रामचन्द्र जोशी, सिता काफ्ले लामिछाने, ऋषिकेश तिवारी, बसन्तवहादुर सिके, मिना कर्माचार्य, मिना कुमारी केसी, रेखा गुरुङ, जितवहादुर नेपाली र विमल राज क्षेत्री रहेको कांग्रेस श्रोतको दावी छ ।

यसैवीच देउवा समूहका महाधिवेशन प्रतिनिधिहरु, नवराज गुरुङ, विद्धान गुरुङ्ग, मुना भुषाल, मोहनवहादुर गुरुङ, श्रृजना मल्ल ठकुरी विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । देउवा समूह निकट मानिने खिमप्रसाद भुषाल, राजेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी अझै पनि तटस्थ बसेको कांग्रेस श्रोतको दावी छ । यद्यपी भुषाल र तिवारीद्धय पनि विशेष महाधिवेशनको पक्षमा लाग्ने कांग्रेस श्रोतले अनुमान गरेको छ ।

महाधिवेशन प्रतिनिधिहरु मुना शर्मा लामिछाने र कुलप्रसाद उपाध्याय हाल विदेशमा रहेका छन् ।