Print

पर्वतमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत गर्न केन्द्रिय सदस्य गिरीको नेतृत्वमा बन्यो समिति

११ मंसिर, पर्वत । यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा पर्वतवाट छनौट हुने १४ जना महाधिवेशन प्रतिनिधिका लागि ७७ जनाले आकांक्षा व्यक्त गरेका छन् ।

पर्वतमा खुल्लाबाट ६ जना, दलितवाट तीन जना, महिलाबाट ४ जना र युवावाट १ जना गरी १४ जना महाधिवेशन प्रतिनिधि हुन पाउँछन् ।

खुलातर्फ मात्रै ४३ जनाको दावी परेको एमाले पर्व्तले जनाएको छ । दलित महिला एक सहित तीन जनामा १३ जनाले आकांक्षी फारम भरेका छन् भने महिला चार जनामा पनि १३ जनाकै दावी परेको छ । यस्तै युवा एक जनामा ८ जनाले आकांक्षी दरखास्त दिएका छन् ।

बुधवार दुई बजेसम्मका लागि आकांक्षीहरुलाई दरखास्त दिन आव्हान गरिएको थियो । सो अवधिमा आवश्यकता भन्दा झण्डै ६ गुना बढिले आकांक्षा व्यक्त गरेका हुन् ।
पर्वतमा नेकपा एमालेका संगठित सदस्यहरुको संख्या ७ हजार ८ सय ८४ रहेको छ । झण्डै सय जना बराबर एक जनाले महाधिवेशन प्रतिनिधिमा आकांक्षा व्यक्त गरेका हुन् ।
आकांक्षा फारम भरेकाहरु बीच सहमतिका लागि छलफल प्रारम्भ भएको छ ।

मंसिर १३ गतेभित्र प्रतिनिधि टुंगाउनुपर्ने केन्द्रको सर्कुलर अनुसार आज आकांक्ष संकलन गरिएकोमा भोली १२ गते छलफल र संवादबाट सर्वसम्मत प्रतिनिधि छनौटका लागि पहल गरिने भएको छ । सर्वसम्मत रुपमा प्रतिनिधि छनौटका लागि केन्द्रीय सदस्यहरु पदम गिरीको संयोजकत्वमा, कल्पना चापागाई र मनोहर बि पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।

यदि सहमतिमार्फत प्रतिनिधि छनोट हुन नसकेमा मंसिर १३ गते निर्वाचन मार्फत प्रतिनिधि चयन गरिने जिल्ला कमिटीले स्पष्ट पारेको छ ।

पार्टी महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न सबै तहका पार्टी सदस्यको सक्रिय सहभागिताको अपेक्षा गरिएको जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।