Print

फलेवासमा पहिरोले ६ घर भत्किए

७ असोज, पर्वत । शनिवार राती परेको भिषण बर्षाका कारण बस्ती तलवाट पहिरो जाँदा पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाको खाल्टेका ६ घर पुर्ण रुपमा भत्किएका छन् ।

पहिरोका कारण स्थानीय १० घरपरिवार उच्च जोखिममा परेका छन् । स्थानीय मिनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठहरु पुर्ण रुपमा भत्किएको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाका वडा अध्यक्ष मनबहादुर कुँवरले जानकारी दिए ।

घर गोठ भत्किए पनि कुनै मानविय तथा पशुचौपायाको क्षती भने भएको छैन । जमिन चिरा पर्न थालेपछि घरमा वस्ने सवै परिवार र पशुचौपाया पहिल्यै अन्यत्र सुरक्षित ठाउँमा गएका कारण मानविय क्षति हुन नपाएको हो । गाउँको विचको वस्तीमा भिषण पहिरो जाँदा गाउवासी त्रसित वनेका छन् । बस्ती भन्दा तल रहेको खोल्सावाट केहि वर्षदेखि पहिरो झर्दै गाउँसम्म पुगेको हो ।

केहि वर्षदेखि जमिन गल्ने, भासिने जस्ता समस्या देखिएकोमा गएरातीको वर्षाले पुरै गाउँनै सखाप बनाएको वडा अध्यक्ष कुँवरले जानकारी दिए । पहिरोवाट विस्थापित बनेका छ  घरपरिवारलाई बस्ती नजिकै रहेको जनज्योती माविको खेल मैदानमा टेण्ट टाँगेर राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिए ।

पहिरोले स्थानीयवासीहरु विस्थापिन बनेपछि जिल्लास्थित विपद ब्यवस्थापन समितिको टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधार तिवारी, उपप्रमुख शोभा क्षेत्री सहित स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत निरिक्षण गरेको छ । उनिहरुले विस्थापित परिवारलाई अस्थाइ वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएर सुरक्षित स्थानमा राखेको फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए ।

मनसुन अझै सक्रिय रहेकाले जोखिममा परेका घरपरिवारलाई समेत आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहेका आफन्तको घरमा आश्रय लिएर बस्न अनुरोध गरिएको नगरप्रमुख तिवारीले बताए । भौगोलिक अवस्था कमजोर रहेकाले अझै धेरै परिवार जोखिममा पर्ने अवस्था देखिएको उनको भनाई छ ।

विस्थापित परिवारलाई पुर्नस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद व्यवस्थापन समितिमार्फत पहल गरिने उनले बताए । वि.सं. २०४० सालमा बस्ती भन्दा तल रहेको खोँचमा पहिरो गएको थियो । अहिले सोहि ठाउँवाट पहिरो झर्ने क्रम बढ्दै जाँदा सिंगो बस्तीनै जोखिममा रहेको प्रहरी नायब उपरिक्षक विष्टले जानकारी दिए ।