Print

मोदीमा गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२ असार, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार गाउँपालिकाको पातिचौर बजार क्षेत्रमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा २ दर्जन भन्दा बढि ब्यक्तिहरुले विभिन्न विषयमा प्रश्न तथा सुझाबहरु दिएका थिए ।

गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि सुझाब समेत संकलन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सर्वपक्षिय सर्वदलिय सुझाबहरु संकलन गरिएको थियो । मौखिक तथा लिखित रुपमा संकलन गरिएको सुझाबमा स्थानीयबासीले दजनौ सुझाब तथा प्रश्नहरु प्रस्तुत गरेका थिए ।

सहभागीहरुले राखेका प्रश्नहरुको उत्तर गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने तथा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले दिनुभएको थियो ।
पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यइक्रममा पछिल्लो समय विद्युत आपूर्तिमा भईरहेको समस्याका विषय पनि उठेको थियो । गाउँपालिका भित्र ५ वटा जलविद्युत आयोजनाहरु सञ्चालनमा रहे पनि पटक पटक विद्युत अवरोध हुनुको कारण बारेमा सहभागीहरुले प्रश्न उठाएका थिए । जलविद्युत आयोजनाहरुले खोलामा पानी सुकाउँदा त्यसले मृत्युसंस्कारमा समेत असर परेको सहभागीहरुको गुनासो थियो ।

खस्कदै गएको शिक्षा क्षेत्र प्रति चिन्ता ब्यक्त गर्दै सहभागीहरुले स्वास्थ्य सेवालाई सरल र सहज बनाउन समेत माग गरेका थिए । गिज्यानको सिंचाईको समस्या देखि तिलाहारको खानेपानीको समस्या समाधानका विषयलाई सहभागीहरुले ध्यानाकर्षण गराएका थिए । पातिचौर देउपुर सडक खण्डमा गएको पहिरोको दिर्घकालीन ब्यवस्थापनको माग गरेका सहभागीहरुले पातिचौर बजार क्षेत्रमा फोहोर मैलाको समस्या समाधानको विषयमा चिन्ता ब्यक्त गरेका थिए ।

ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारी साधनको भाडा महंगो भएको भन्दै भाडादर समायोजन गर्न समेत सहभागीहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । बजार क्षेत्रमा पसल दर्ता नगरी सञ्चालन गरेकाहरुलाई करको दायरामा ल्याउनुपर्ने माग गर्दै कार्यक्रममा बोल्ने सहभागीहरुले नदी उत्खनन् र विद्यालयको भौतिक तथा गुणस्तर सुधारका विषयमा समेत प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले यस अघि पालिकाका सवै वडाहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमसंगै संघीय राजधानी काठमाण्डौंमा रहेका विभिन्न क्षेत्रका उच्चपदस्थ ब्यक्तिहरुसंग राय मागेको गाउँपालिकाले पुनः पालिका स्तरीय कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको सहजीकरण वकालत मिडिया प्रा.लि. गरेको थियो ।