२८ जेठ, पर्वत । पछिल्लो २ महिनाको अवधिमा पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार लगाएतका स्थानमा दैनिक दजनौ पटक विद्युत आपूर्ति अवरुद्ध हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशन परिर्वतनसंगै पर्वतको विद्युत आपूर्ति पूर्ववर्त अवस्थामा भन्दा धेरै पटक अवरुद्ध हुने गरेको हो ।
पर्वत जिल्लाको विद्युत वितरण केन्द्रले भने मौषमका कारण यस्तो समस्या आएको जनाएको छ । केन्द्रका प्रमुख प्रितम राज विष्टले मौसम मुख्य कारण रहेको र मोदी सवस्टेशनका कारण पनि विद्युत आपूति अवरुद्ध भइरहेको बताउँछन् । विगत ३ बर्षको अवधिमा सवैभन्दा धेरै पटक यो समयमा विद्युत आपूर्तिमा समस्या रहेको स्विकार गर्दै विष्टले यसलाई लोडसेडिङ भन्न नमिल्ने बताए ।
दैनिक विहानको समयमा र साँझको समयमा विद्युत आपूर्ति अपेक्षित रुपमा बन्द हुनेग रेको छ । पर्वत न्यूजको समाचार अभिलेखमा जुन १९, २०२२ अर्थात २०७९ असार ८ गते पछि विद्युत आपूर्तिमा समस्या आएको समाचार प्रकाशित छैन् । यो अवधिमा पर्वत जिल्ला र यस आसपासका क्षेत्रमा विद्युत प्रवाहमा भईरहेको समस्याका कारण वितरण केन्द्रले प्राविधिक कारण मात्र भन्ने गरेको छ । दैनिक दजनौं पटक हुने विद्युत आपूर्तिको समस्या केबल प्राविधिक कारण देखाइए पनि नेपाल विद्युत प्राधिकरणमा नयाँ प्रमुखको नियुक्तीसंगै बढेर गएको छ ।
विगत केहि दिनदेखि मौसम सफा छ, तर पनि विद्युत आपूर्ति पटक पटक बन्द हुने गरेको छ । मौषममा खराबी नआउँदा समेत विद्युत आपूर्तिमा भईरहेको समस्याबाट उपभोक्ता चरम मारमा परेका छन् । वितरण केन्द्रलाई बुधवार विहान १० बजेको समयमा कुश्मा केहि स्थानमा भएको विद्युत आपूर्ति बन्द बारे सोध्दा खोजी कार्य भईरहेको बताएको थियो ।
लोे लाइट शाखासंग के कारण कुन कुन बेलामा विद्युत प्रवाहमा समस्या आयो भन्ने ठोस जानकारी छैन् । वितरण केन्द्रले मोदी सवस्टेशनलाई र मौसमलाई दोष लगाए पनि यो समस्या राष्ट्रिय समस्या रहेको उपभोक्ताहरु बताउँछन् ।




