२७ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट निर्माणको लागि अनलाईन मार्फत सुझाब मागेको छ ।
आगामी आर्थिक बर्षको बजेट तर्जुमाको तयारीको लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय तथा प्रादेशिक कानूनहरु, दीगो विकासका लक्ष्यहरु पुरा गर्नका लागि स्थानीयबासीसंग गाउँपालिकाले सुझाब मागेको हो ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले आगामी नीति तथा कार्यक्रममा समेटनुपर्ने विषय, आयोजना तथा कार्यक्रमहरुको बारेमा गाउँपालिका बासी तथा अन्य ब्यक्तिहरुले समेत सुझाब दिनसक्ने जानकारी दिनुभयो । गाउँपालिकाले यस अघि राष्ट्रिय स्तरमा ख्याति प्राप्त गाउँपालिकाबासीसंग संघीय राजधानीमा एक कार्यक्रमको आयोजना गरी आगामी बर्षको लागि सुझाब मागेको थियो ।
यसैगरी वडाहस्तरहरुमा सार्वजनिक सुनुवाई तथा सुझाब संकलन कार्यक्रमको आयोजना गरी भौतिक रुपमा नै गाउँपालिकाका पदाधिकारीहरु उपस्थित भएर सुझाब संकलन गरिएको थियो ।
गाउँपालिकाले देश र प्रदेशमा रहेका स्थानीयबासीसंग समेत सुझाब माग गर्ने उद्देश्यले अनलाईन क्यू आर र इमेल मार्फत पनि सुझाब दिन सकिने गरी पुनः सुझाब माग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।





