Print

मोदीमा प्रमुख प्रशासकीय अधिकृत र अध्यक्ष बीच कार्य सम्पादन सम्झौता


७ असोज, पर्वत । जिल्लाको मोदी गाउँपालिमा जनप्रतिनिधि र कर्मचारी वीच कार्यसम्पादन सम्झौता भएको छ । गाउँपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउनका लागि गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका वीचमा कार्यसम्पादन सम्झौता भएको हो ।

अध्यक्ष शर्मा र अधिकृत पुरीका वीचमा गाउँपालिकाको बार्षिक समिक्षा गोष्ठि कार्यक्रममा कार्यसम्पादन सम्झौता भएको थियो । कार्यसम्पादन सम्झौतामा गाउँपालिकाले लिएको लक्ष्य अनुसारको काम गर्ने विषय उल्लेख गरिएको छ ।

सम्झौता पछि चालु आर्थिक बर्षका बार्षिक कार्यक्रमहरुलाई अगाडि बढाउने सन्दर्भमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुरीले सम्झौता बमोजीम इमान्दारीता साथ कार्य सम्पादन गर्ने बताएका छन् । आफू मातहतका कर्मचारीसंग समेत आफूले कार्य सम्पादन सम्झौता गराउने बताउदै पुरीले सवै शाखाका कर्मचारीहरुले बार्षिक कार्यक्रमलाई प्रभावकारी ढंगले सम्पन्न गर्न निर्देशन दिए ।

अध्यक्ष शर्माले कार्यसम्पादन सम्झौता केबल कागजी प्रक्रिया मात्र नभएले यसले सेवाप्रवाहको गुणस्तरमा आमूल सुधार आउने अपेक्षा ब्यक्त गरिन । उनले गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमलाई सफल बनाउनका लागि तयार भएको बजेटको सहि सदुपयोगका लागि पनि कार्य सम्पादन सम्झौता महत्वपूर्ण दस्तावेज रहेको बताईन् ।

कार्य सम्पादन सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमल लामिछाने समेतको सहभागीता थियो । उपाध्यक्ष लामिछानेले जनप्रतिनिधि र कर्मचारी सवैले गाउँपालिकाको साझा लक्ष्य र उद्देश्य पुरा गर्ने गरी काम गर्नुपर्ने धारणा राखे ।

मोदी गाउँपालिकामा यस अघि पनि कर्मचारी र जनप्रतिनिधिका वीचमा कार्य सम्पादन सम्झौता हुने गरेको थियो ।