७ असोज, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाले गत आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रमहरुको प्रगति विवरणको बारेमा समिक्षा गरिएको हो ।
२०८०/०८१ आर्थिक बर्षमा गाउँपालिका भित्र सम्पन्न भएका कार्यक्रमहरु, आयोजना तथा क्रियाकलापहरुको विषयमा समिक्षा गोष्ठिमा विषगत रुपमा प्रस्तुतीकरण भएको थियो । गाउँपालिकाको पातिचौर स्थित मोदी सभाहलमा सम्पन्न समिक्षा कार्यक्रममा गाउँपालिका भित्र विषयगत शाखाका प्रमुखहरुले कार्यक्रमको डिजिटल प्रस्तुती गरेका थिए ।
गाउँपालिका अध्यक्ष शर्माले कार्यक्रममा सवै कर्मचारीहरुले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखिन । उनले गाउँपालिका भित्रका सवै कर्मचारीहरुले प्रमुख प्रशासीय अधिकृतको मातहतमा इमानदारीताका साथ जनताको सेवा गर्ने गरी काम गर्न निर्देशन समेत दिइन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले सेवाग्राहीलाई सुन्तष्ट बनाउने गरी गाउँपालिकाका कर्मचारीहरुले सेवाप्रवाह गर्नुपर्ने बताए । उनले गाउँ सभा र कार्यपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पनि समस्या आए त्यसको सहजीकरण गर्न सवै जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए ।
गाउँपालिकामा केहि समय अघि मात्रै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका पुरीले सवै कर्मचारीले कर्तब्यनिष्ठ भएर काम गर्नुपर्ने धारणा राखे । उनले स्थानीय सरकारको अनुभूति दिलाउने गरी जनताका पिरमर्का र दुःखसुखमा साथ दिने गरी कर्मचारीले काम गर्नुपर्ने बताए ।
गाउँपालिकाका वडाअध्यक्षहरु तथा कार्यपालिका सदस्य र गाउँपालिकाका कर्मचारीहरुका वीचमा उक्त समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी र गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा वीच कार्यसम्पादन सम्झौता भएको छ ।




