Print

पर्वत अस्पतालको गुणस्तर थप सुधार गर्न सुझाब


५ असोज, पर्वत ।
जिल्लाकै ठूलो पर्वत अस्पतालको सेवा र गुणस्तरमा थप सुधार गर्न सरोकारवालाहरुले सुझाब दिएका छन् । अस्पतालले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रमका सहभागीहरुले अस्पतालले प्रवाह गर्ने सेवा प्रवाहमा अझै सुधार गर्नुपर्ने धारणा राखेका हुन् । सिमित श्रोत साधनले सेवाग्राहीका असिमित आवश्यकताहरु पुरा गर्न अस्पताललाई समस्या रहे पनि उपलब्ध श्रोत साधनको उचित प्रयोग गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।

पर्वतको कुश्मा बजारमा आयोजीत कार्यक्रममा अस्पतालका प्रमुख डा. हेमन्त बास्तोलाले अस्पतालको बार्षिक प्रगति प्रस्तुत गरेका थिए । डा. बास्तोलाले प्रगति विवरण प्रस्तुत गर्दै अस्पतालमा गत बर्षमा बिरामी चाप उच्च रहेको बताए । उनले विरामीको संख्या प्रति दिन बढ्दै जाने तर दक्ष जनशक्तिको अभाव हुने समस्या अस्पताललको दिर्घकालीन समस्या रहेको औल्याए । उनले विगतका बर्षहरुको तुलनामा स्वास्थ्थ उपचार र सेवा प्रवाहमा सुधार आएको बताउँदै अस्पतालमा विगतका बर्षमा रहेको खानेपानीको ठूलो समस्याको समाधान भएको समेत बताए ।

जनशक्ति ब्यवस्थापनमा अस्पतालमा आर्थिक श्रोतको अभाव रहेको बताउँदै डा. बास्तोलाले स्वास्थ्य बिमाको परिर्वतीत नीतिहरुका कारण पनि कतिपय विरामीहरु अलमलमा परेका बताए । अस्पतालका अध्यक्ष शंकर गिरीले ब्यवस्थापन समितिले गरेको मेहनत र परिश्रमका कारण अस्पतालको ब्यवस्थापनमा सुधार गएको बताए । उनले सवै पक्षको साथ र सहयोगका कारण विगतको तुलनामा अस्पतालले धेरै प्रगति गरेको र सेवा प्रवाहमा समेत सुधार आएको दाबाी गरे । उनले भौतिक संरचनाको ब्यवस्थापनमा उचित सुधार भएको बताउँदै जनशक्ति ब्यवस्थापनका लागि अस्पतालको स्तरोउन्नती नै पहिलो आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा समन्वय समितिका प्रमुख विष्णुराम विक, प्रशासनक कार्यालय पर्वतका प्रशासकीय अधिकृत अर्जुन शर्मा, स्वास्थ्य कार्यालय प्रमुख प्रविन शर्मा, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि. पौडेल, पत्रकार महासंघका सचिव राजबाबु पिसी, लगाएतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका सहभागी पत्रकारहरुले अस्पतालको गुणस्तर र सेवा प्रवाह सुधारमा सुझाबहरु प्रस्तुत गरेका थिए । अस्पतालले गत बर्षमा प्रवाह गरेको सुरक्षित मातृत्व सम्बन्धि प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।