Print

गण्डकी प्रदेश सरकारले यसै वर्ष पर्यटन निति ल्याउँछ : मन्त्री बस्याल 

५ असोज, पर्वत । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश सरकारले पर्यटन नीति मस्यौदा गर्न थालेको बताउनुभएको छ ।

पर्वत उद्योग बाणिज्य संघले शनिवार आयोजना गरेको सम्मान तथा वधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्यालले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नका लागि नीति तथा ऐन बनाउन थालिएको बताउनुभयो । प्रदेश सरकारको आफ्नै पर्यटन निति नहूँदा पर्यटकीय क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यवस्थापन र यसवाट प्रदेश सरकारले उचित लाभ समेत लिन नसकिरहेको भन्दै अहिले मस्यौदाको ड्राफ्ट गर्न थालिएको बताउनुभयो । उहाँले केहि महिनामा प्रदेशसभावाट पारित गर्नेगरी तयारी भैरहेको समेत बताउनुभयो ।

मन्त्री बस्यालले गण्डकी प्रदेशको मुख्य आधारनै पर्यटन भएकाले सकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । बढि भन्दा बढि पर्यटकलाई भित्र्याउनका लागि पर्यटकीय क्षेत्रहरुको पुर्ननिर्माण, संरक्षण, संम्वद्र्धन र पहिचान भैरहेको उहाँको भनाई छ । मन्त्री बस्यालले पोखरामा मात्र सिमीत नराखि ११ वटै जिल्लाका सम्भावनायुक्त ठाउँमा पर्यटकलाई पुर्‍याउने र थप गन्तब्यस्थल विस्तार गरिँदै लगिने बताउनुभयो ।

अर्को प्रसंगमा मन्त्री बस्यालले  दुई ठुला छिमेकी चीन र भारतले उत्पादन गरेका उत्पादनलाई रोक्न नसकिने तर देशमै साना तथा घरेलु उद्योगहरू सञ्चालन गर्नुपर्ने बताउुभयो । चीन र भारतले उत्पादन गरेका सामग्री तथा खाद्य वस्तुहरू विश्व बजारमा पुगिरहेको अवस्थामा ती वस्तुहरूको आयात रोक्न नसकिने उहाँको भनाइ छ । तर, आयातलाई कम गर्न प्रदेशका हरेक जिल्लामा सम्भावित साना उद्योगहरू सञ्चालन गर्न सकिने मन्त्री बस्यालले बताउनुभयो ।

‘चीन र भारतका उत्पादन ल्याउन रोकेर हामीलाई आवश्यक पर्ने वस्तुहरूको उत्पादन यहीँ गरेर धान्न सकिने अवस्था छैन । बरु यहाँ साना तथा घरेलु उद्योगहरू सञ्चालन गरेर यहाँका स्थानीय वस्तुहरूलाई निर्यात गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘पर्वतको पर्यटन उद्योगको सम्भावना धेरै राम्रो हुँदै आएको छ । यहाँको सम्भावनाका बारेमा सम्भाव्यता लिएर आउनुहोस् प्रदेशबाट हुने काम प्रदेशबाट र नसकेका कामका लागि सङ्घीय सरकारमा पनि जाउँला ।’

छिमेकी भारतबाट बर्षेनी ठुलो संख्यामा पर्यटक तथा तिर्थयात्री पोखरा-पर्वत हुँदै मुस्ताङको मुक्तिनाथ जाने गरेकाले उनीहरू पर्वतमा पनि रमाउने वातावरण तयार गर्नुपर्ने मन्त्री बस्यालको भनाइ छ । पर्वत सदरमुकाम कुश्मा हुँदै दैनिक सयौँ पर्यटकहरु मुस्ताङ प्रवेश गरिरहेको अवस्थामा त्यसको फाइदा उठाउनको लागि जिल्लामा धार्मिक पर्यटनको विकास गर्नु पनि उत्तिकै आवश्यकता रहेको उहाँले बताउनुभयो । त्यसका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेकोले आफू सहकार्यका लागि तयार रहेको बस्यालको भनाइ छ ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी पौडेलले उद्योगको विकासको लागि प्रदेश सरकारले केही सुधारका कामहरू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । केही वर्षसम्म उद्योग तथा व्यवसाय नवीकरण गर्न नसकेका व्यवसायीहरूलाई नवीकरण गर्ने बेलामा १० औँ गुणासम्म जरिवाना तिराउनु र बन्द गर्न खोज्दा बन्द गर्न पनि नदिनु गलत भएको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन महासचिब खड्गप्रसाद खनाल र धन्यवाद मन्तव्य बरिष्ठ उपाध्यक्ष कमल जिसीले राख्नुभएको खबर लक्ष्मीप्रसाद सापकोटाले लेखेका छन् ।