Print

संविधान संसोधन गर्न सुझाब


४ भदौ, पर्वत । यहाँ आयोजीत एक कार्यक्रमका बक्ताहरुले संविधान संसोधन गर्न सुझाब दिएका छन् । संविधान कार्यान्वनको चरणमा धेरै चुनौतिहरु थपिएको भन्दै पर्वतको कुश्मा बजारमा आयोजीत एक कार्यक्रमका बक्ताहरुले संविधानलाई संसोधन गर्न सुझाब दिएका हुन् ।

पर्वत सदरमुकाम कुश्मा बजारमा नेकपा (एमाले) पर्वतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले संविधानले देशको आर्थिक विकासमा बाधा पुराएको बताएका थिए । कार्यक्रमका सहभागी धुव्र श्रेष्ठ भन्छन्–संविधानले धेरै नेता मात्र जन्माएको छ, तर जनताको दैनिक आवश्यकताहरु पुरा गरेको छैन् उनले संविधान संसोधन गरेर देशको चालु खर्च घटाउन सुझाब दिए ।

कार्यक्रमका एमाले पाटी सचिव सुवासचन्द्र पौडेलले जिल्ला समन्वय समिति खारेज हुनुपर्ने धारणा राखे । संविधानमा देशलाई आर्थिक भार पर्ने गरी सांसदको संख्या राख्दा देश विकासको गति सुस्ताएको पौडेलको धारणा थियो ।

कार्यक्रमका सहभागी एमाले नेता प्रेम पौडेले भने अमेरिकी साम्राज्यबादीले देशको राजनैतिक अवस्था र संविधान निर्माणमा हस्तक्षेप गरेको आरोप लगाए ।

एमाले उपाध्यक्ष बिमल लामिछानेले संविधान कार्यान्वनमा सवै पक्षले इमान्दारीताका साथ लाग्नुपर्ने धारणा राखे । एमाले अध्यक्ष गोविन्द पहाडीले संविधान मुलभुत रुपमा गलत नभए पनि यसको कार्यान्वयनमा अझै पनि समस्या आएको धारणा राखेका थिए ।

अधिबक्ता चन्द्रबहादुर क्षेत्रीले संविधानमा समाविष्ट नागरिक अधिकार, कार्यान्वयनको वर्तमान अवस्था र चुनौतिहरु विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रेस चौतारी पर्वतका पूर्व अध्यक्ष इन्द्रमान खत्रीले कार्यपत्र उपर टिप्पणी गरेका थिए ।

संविधान दिवसको अवसरमा एमालेले उक्त कार्यक्रमको आयोजना गरेको हो ।