१७ भदौ, पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ ।
संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो ।
गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो ।
पर्वतका बस्यालले संसदकै ज्येष्ठ सदस्य भएर सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । नवलपुरकी पद्मा यसअघि नै मन्त्री बन्ने चर्चा थियो ।
मन्त्री हुने पक्का भएका प्रकाशबहादुर केसी राप्रपाबाट एमाले प्रवेश गरी खगराजकै जोडबलमा समानुपातिक सांसद बनेका हुन् । केसी यसअघि राप्रपा कोटाबाटै खाद्य संस्थानको महाप्रबन्धकसमेत भएका थिए ।
बागलुङका पाठक खगराज निकट संसदमा खरो प्रस्तुति राख्ने सांसदका रुपमा चिनिन्छन् । उनलाई यसपटक मन्त्री बनाउन निकै दबाब आएको एमालेका सांसदहरुले बताउँदै आएका थिए ।
२२ जना सदस्य रहेका एमालेबाट मन्त्री हुनेमा धेरै जना आकांक्षी थिए । तर ४ जना मन्त्रीको नाम टुंगो लगाइसकेको बताउँदै अधिकारीले भने, ‘नाम र मन्त्रालयपछि पछिमात्र सार्वजनिक गर्छौं ।’
गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेलाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ । एमालेका चारै जना मन्त्रीको आजै सपथ गर्ने तयारी रहेको खबर अनलाईन खबरले प्रकाशन गरेको छ ।