– प्रताप पौडेल
लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय रुपमा नै असर पारेको छ साथै विश्वव्यापीरुपमा समस्या र अपराधको असैहृय पीडा समेत दिएको छ । लागु औषधको दुरुपयोग र यसका दुरुपयोगकर्ताले स्वयम् व्यक्ति, परिवार, समुदाय र राष्ट्रकै भविष्यमा पनि गहिरो अशर पारेको हुन्छ । नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवतीहरु यसबाट पीडित छन भने तिनका अविभावक र इष्टमित्रहरु पनि छटपटीमा परेका छन् । यसतर्फ सम्पूर्ण समाज, सामाजिक व्यक्ति तथा समूहले चासो राख्नुपर्दछ ।
परिवार र समाजलाई यसले पारेको असरप्रति राज्य र समुदायले गहिरो चासो दिनुपर्ने समय आएको छ । लागु पदार्थको प्रयोगबाट हुने अशर वडो भयानक हुन्छ । यसले व्यक्ति स्वयम्, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ । यो मादक पदार्थ र सुर्तिजन्य पदार्थ भन्दा धेरै गुणा हानिकारक छ । मादक पदार्थ तथा सुर्तिजन्य पदार्थको विक्रि वितरण, सेवनका विरुद्दमा समुदायहरुको सामान्य चासो देखिन्छ तर लागु पदार्थ दुर्व्यसनको नियन्त्रण समुदायको प्राथमिकतामा रहेको देखिंदैन । नेपाली समाजका विभिन्न समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भिर रुपमा यसलाई लिनुपर्दछ अन्यथा हाम्रा छोराछोरी तथा भाईवहिनि हरुपनि कुलतमा नफस्लान भन्न सकिंदैन ।
कतिपय परिवार, टोल सुधारकहरु र समूहहरु लागु औषध बिक्रि गर्ने, ओसारपसार गर्ने त्यसलार्इ सहयोग गर्ने ब्यक्ति तथा समूहहरुको वारेमा जानकारी राख्दैनन् भने यस्तो क्रियाकलाप आफ्नै घर तथा परिवारमा भएको खण्डमा समेत आफनो समस्या भित्र भित्रै लुकाएको पाईन्छ कारण लागुऔषधको कारोवार वा सेवन गैर्ह कानूनी हो यो वाहिर गयो भने सामाजिक रुपमा व्यइजेत हुने र कानूनी कारवाहि हुनेकुराको जानकारी उनीहरुलाई हुन्छ । लागुऔषध सेवनकर्ताले निश्चित सीमा नाघेपश्चात उनीहरु आन्तरिकरुपमा हारगुहार त गर्छन् तर कुनै उपाय नलागेपछि पुनस्र्थापना केन्द्र पुग्दछन् ।
अहिले नेपालका विभिन्न ठाउँमा पुनस्र्थापना केन्द्र स्थापना गरी उपचार गरिएको भएपनि यो दिर्घकालीन समाधान चाँही होइन । उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु परेको छ । यो राज्यको वाध्यता मात्रै होईन यो समाजको पिडा पनि हो । लागुऔषध दुर्व्यसन र यसको असर सिंगो मानव समुदायको पीडक हो । अमेरिकाको गृहयुद्धमा घाइते सैनिकलाई पीडा कम गर्न मफिर्न (लागुऔषध) को व्यापक प्रयोग भयो । तर यो त अन्य लागुऔषध भन्दा १०औ गुना हानीकारक सावित भयो भने औषधी विज्ञानमै घातक सिद्ध भयो । हेरोइन त्यो भन्दा वढि हानिकारक सिद्द भयो भने गांजा चरेश पनि औषधि विज्ञानका हानिकारक लागुऔषध हरु हुन् ।
लागु पदार्थको दुर्व्यसनले मानिसको शारिरिक तथा मानसिक दुर्वलता ल्याउनुको साथै मस्तिष्क, मुटु र फोक्सोजस्ता संवेदनशील अंगहरुमा आघात पारी मानवीय स्वास्थमा नै खराब असर पार्दछन् । ती लागु पदार्थले मानिसलाई आलस्यता ल्याउने, भ्रम सृजना गर्ने र उत्तेजना ल्याउने कार्य गर्दछन् भने कानूनी रुपमा लागुऔषध एक समाज विरुद्धको गम्भीर अपराध हो । यसको दुरुपयोगबाट लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगी आदिजस्ता अपराधहरु बढ्दै गएका छन् । अबिभावकले वुझ्नैपर्ने कुरा: हिजो आज युवा समुदायहरुमा लागु औषध जीवनसाथी जस्तै बनिरहेको छ । मुलुकका उर्जा युवा शक्तिहीन भई कामविहिन मात्रै होइन परिवार एवं समाजलाई समेत बोझ बनेका छन् । यस्ता दुर्व्यसनीहरुको संख्या वृद्दि भई डरलाग्दो परिस्थिति सृजना भइरहेको छ ।
हालै नेपालका प्रहरी हिरासत र कारागारमा ३७ प्रतिशत प्रत्येक्ष लागुऔषध सम्वन्धी कसुरका थुनुवाहरु रहेका छन् भने लागुऔषध सेवन गरी अन्य अपराधमा संलग्न थुनुवा तथा कैदिहरु संख्या ७८ प्रतिशत छ । यो नेपालजस्तो विकासोन्मूख देश र हाम्रो मध्यम समाजको लागी डरलाग्दो विषय हो । हाम्रो जस्तो मुलुकमा प्रत्येक्ष अपराध र अपराधको कारण वनिरहेको लागुऔषध दुर्व्यसनको अवस्थाले राज्यको उर्जाशील जनशक्ति गुमाउनु परेको पिडा त राज्यलाई छंदैछ दुर्व्यसनमा लाग्ने ब्यक्तिको परिवार उनीहरुले आर्जन गरेको पैसा, इज्यत प्रतिष्ठा र मुल्य मान्यता पनि क्षणभरमै गुमाउनुपर्ने यो जटिल विषय अहिलेका हरेक परिवारको लागी चुनौतिको रुपमा रहेको छ ।
लागुऔषध दुर्व्यसनको सुरुवात चुरोट सेवनवाट हुन्छ चुरोट पछी रक्सी, गांजा हुंदै विभिन्न रसायनयुक्त औषधि हुंदै गम्भिर प्रकृतिका महंगा लागुऔषधहरु नियमित सेवन गर्ने वानी वन्दछ र त्यसको प्रभाव मृत्यू वा प्रहरी नियन्त्रण हुंदै कारागारमा गएर टुङ्गिन्छ । लागुऔषध प्रयोगकर्ताले सेवन गरेको कुरा सम्वन्धित अविभावकहरुलाई तवमात्र थाहा हुन सक्दछ जव आफ्नो स्वयम् व्यक्ति कुनै न कुनै जटिल समस्यामा पर्दछ । यसरी जानकारी प्राप्त भएपश्चात अविभावकको आर्थिक क्षमता रहेको खण्डमा सुधारकेन्द्रमा राखेको पाईन्छ भने धेरैजसो दुर्व्यसनीहरु प्रहरी नियन्त्रणमा पुगेपश्चात मात्रै अविभावकहरुलाई जानकारी रहेको कुरा विभिन्न अनुसन्धानहरुले देखाएका छन् । नियन्त्रणको प्रयास: लागु औषधसम्बन्धी जानकारी राख्ने अभिप्रायले लागु औषधको ऐतिहासिक पृष्ठभूमि, यसको क्रमिक विकास, लागु औषधीहरुको नाम, विभिन्न मुलुकले गरेको कानुनी व्यवस्था, वर्तमान अवस्थामा यसको प्रभाव, यसलाई नियन्त्रण गर्न चालिएका विभिन्न मुलुकहरुका प्रयाससमेतलाई यस लागु औषधको अपराध र यसको कानुनी पक्ष विषयमा दृष्टि राख्नुपर्ने भएको छ । नेपालमा लागु औषधको दूर्व्यसन साथै यसको अवैध ओसारपसार र त्यसबाट सृजित अन्य अपराधहरु ज्यादै गहन समस्याका विषय बनेका छन् ।
अन्तर्राष्ट्रियरुपमै संगठित तस्करहरुले नेपाललाई लागु औषधको पारवहन विन्दु (Transit Point) बनाउँदै आएका छन् । तथापि अन्तर्राष्ट्रिय तहमा यसलाई रोक्न धेरै पहिलेदेखि नै प्रयास गरिएको देखिन्छ । १९०९ को अफिम कमिशनले लागु औषध नियन्त्रणको पहिलो प्रयास थालनी गर्यो भने हेग कन्भेन्सन १९१२ ले पनि यस दिशातर्फ सन्धी कानुनको आयाम थप्यो। सन् १९८८ को महासन्धिले मुलतः लागु औषधको अवैध नियन्त्रण कार्यमा पूर्णता ल्याउन नसके तापनि तत्कालीन विश्व समुदायको प्रयास र लागु औषध समस्याको बोध गराएको पाईन्छ । लागु औषधको दुरुपयोग र अवैध ओसारपसारसम्बन्धी १९८७ को अन्तर्राष्ट्रिय सम्मेलनमा लागु औषधको मागमा न्यूनिकरण र रोकथाम, वितरणमा नियन्त्रण अवैध ओसारपसारमा रोक दुर्व्यसनीहरुको उपचार र पुनस्र्थापनाको लागि केही छलफल चलाइएको थियो । तर त्यसको कार्यान्वयनको लागि राष्ट्रहरुलाई स्पष्ट दायित्व सुम्पिएको पाइँदैन । अपराधी उपर कारवाही चलाउने अन्तर्राष्ट्रिय न्यायीक निकायको व्यवस्था देखिंदैन ।
अपराधको प्रविधिभन्दा माथि उठेर अनुसन्धान गर्ने प्रहरी संगठन र अन्तर्राष्ट्रियस्तरबाटै मुद्दा चलाउने न्यायीक कार्यको अभावले पनि लागु औषधसम्बन्धी अपराध बढ्दै गएको देखिन्छ । जुन ज्यादै गम्भीर र चुनौतिको विषय हो । अहिले इन्टरपोलले आफनो कार्यको १/३ भाग लागुऔषधसम्बन्धी अपराध अनुसन्धानमा खर्च गर्छ । यसले मात्र यत्रो उल्लेखनीय सफलता हासिल गरेको पाइन्छ भने छुट्टै संगठनलाई सक्रिय गराइएमा अझै बढी सफलता हुने देखिन्छ । लागु औषध ओसारपसारका गिरोहले उच्च स्तरिय प्रविधिको प्रयोग गर्दै प्रहरीको नियन्त्रण र अनुसन्धान भन्दा धेरै अगाडि वढेर यस्ता गिरोहहरु कारोवार र अपराधमा संलग्न भएको देखिन्छ । लागु औषधजस्तो गहन किसिमको मुद्दालाई विशेष अदालत गठन गरी हेर्ने व्यवस्था भएमा छिटोछरितो फैसला हुन सक्ने र यस विषयमा विशेष ज्ञान भएका व्यक्ति न्यायाधीशको पदमा नियुक्त गर्नसकेमा लागु औषध नियन्त्रण गर्न अझ बढी बल पुग्न सक्ने देखिन्छ । समाधानको उपाय : लागु औषधजस्ता गम्भीर समस्या समाधान गर्न यसलाई प्रभावकारी रुपमा लागु गर्नको लागि अनुसन्धान छानविन, परीक्षण, मुद्दा दायरसम्बन्धी विशेष ब्यवस्था गर्न आवश्यक देखिन्छ ।
लागु औषध परीक्षण गर्ने, विशेषज्ञ तयार पार्ने, लागु औषधसम्बन्धी अपराध अनुसन्धान गर्न छुट्टै निकाय ब्यबस्थापन गर्ने, वैज्ञानिक प्रयोगशालाको प्रादेशिक स्तरमा विस्तार गर्ने जस्ता तत्काल गर्न सकिने कार्यहरु हुन् । अन्य फौजदारी मुद्धाका प्रतिवादीलाई २५ दिन अनुसन्धानका लागि राखिन्छ भने लागु औषध नियन्त्रणअन्तर्गत रहेका अभियुक्तलाई ९० दिन अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा राखिन्छ । यो ढिलो हुनु भनेको सबै लागु औषधको परीक्षण गर्न काठमाडौको अनुसन्धान प्रयोगशालामा लैजानु पर्ने बाध्यता नै हो ।
सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना बाबुनानीहरुलाई यथेष्ट समय दिने अभ्यास, समाजमा युवामैत्री वातावरण सृजना गर्ने, उनीहरुलाई समाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला संस्कृति, नृत्य, संगीत, खेलकुद आदिसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्ने देखिन्छ । यसरी उनीहरुका रुचीअनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले दिनु आवश्यक छ । त्यसको सञ्चालनको जिम्मा पनि युवाहरुलाई नै दिने हो भने हाम्रा सन्तती कि त रोजगार कि त यस्तै रचनात्मक कार्यमा व्यस्त भई कुलतबाट जोगिन सक्छन् ।
बढिभन्दा बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने, लागु पदार्थ ओसारपसार गर्ने र बिक्री गर्नेलाई थप कडा कानुन बनाई लागु गरिनु पर्ने जिम्मेवारी देखिन्छ । यस्तो व्यवहारिक समस्या समाधानका लागि नेपाल सरकारले योजनाबद्ध कार्यनीति बनाउने जनताहरुसामु व्यापक रुपमा प्रचारप्रसार हुनुपर्ने, गैरसरकारी संस्थाहरुको कार्यमा सरकारले सहयोग पुर्याउनु पर्ने देखिन्छ भने यस विषयमा सर्वसाधारण हरुलाई सचेत गराउनु नितान्त आवश्यक छ । नेपालको सन्दर्भमा प्रशासनिक निकायबाट मात्र लागु औषध नियन्त्रण गर्न संभव छैन । लागु औषधको यो समस्या समाधान गर्न प्रहरी प्रशासन, कानुन व्यवसायी, सरकारी वकिल र अदालतको यो प्रयास मात्रै पर्याप्त छैन । अभिभावकको हैसियतमा सम्पूर्ण राज्य नै यसको नियन्त्रयणमा कसरी लाग्नु पर्छ अब त्यो सोच्नुपर्ने बेला आएको छ । साथै समाजका हरेक अंग लागुऔषध दुर्व्यसन नियन्त्रणमा लागेर यसलाई सक्दो न्यूनिकरणको प्रयासमा नलागे राज्यको जोखिम थप वढ्ने छ ।
( लेखक जिल्ला प्रहरी कार्यालय वागलुङमा प्रहरी निरीक्षक पदमा कार्यरत छन् )