११ साउन, पर्वत । जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखसंग पर्वतका पत्रकारहरु वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुले विभिन्न कार्यालयको सेवाको विषयमा प्रश्न राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले कार्यालय प्रमुख र पत्रकारका वीचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हुन् । उक्त कार्यक्रममा सञ्चारकर्मीले पर्वतमा पटक पटक हुने विद्युत आपूर्ति बन्दको कारण मागेका थिए । बर्षायामको शुरुवात पहिला देखि नै विद्युत आपूर्तिमा कुश्मा बजारसंगै जिल्लाका विभिन्न वस्तीहरुमा समस्या परीरहेको छ । लामो समय सम्म विना सुचना विद्युत अवरुद्ध हुने गरेको छ । उता, मध्यपहाडी लोकमार्ग आयोजनामा निर्माणधिन तमादीखोला पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन् ।
कार्यक्रमका सहभागीहरुले मध्यपहाडी लोकमार्ग आयोजनाको कुश्मा बजार क्षेत्रमा निर्माण गरिएको फुटफाट देखाउँदै सरकारको काम माथि प्रश्न उठाएका थिए । सडक किनारमा निर्माण गरिएको फुटफाट मानिसलाई फसाउने एम्बुस भएको सञ्चारकर्मीको भनाई थियो ।
उता, निर्माणब्यवसायीको चरम लापरबाहीका कारण कालीगण्डकी लोकमार्ग आयोजना अन्तर्गतको लामायखोला मोटरेवल पुल लामो समय देखि निर्माण अझै हुन सकेको छैन् । लोकमार्गको मोदीवेणी खण्डको स्तरोउन्नती हुन नसक्दा दक्षिणी पर्वतबासीले सास्ती बेहोर्दै आइरहेका छन् ।
हुवास लुंखु सडक निर्माणमा लापरबाही हुँदा त्यहाँका वस्ती जोखिममा परेका छन् । उता, बजार क्षेत्रकै पर्वत अस्पताल मार्गको स्तरोउन्ती हुन नसक्दा नागरिकले दुःख ब्यहोर्न परेको छ ।
कार्यक्रमका सहभागी सञ्चारकर्मीहरुले उत्तर देखि दक्षिणसम्म सरकारी कार्यालयहरुले सञ्चालन गर्ने कार्यक्रमहरुबाट लाभान्वित जनता प्रत्यक्ष रुपमा जोडिन नसकेको बताएका थिए । कार्यालयहरुले सम्पन्न गरेका काहरुको प्रचार प्रसारमा थप ब्यवस्थित बनाउँदै समानुपातिक विज्ञापन प्रणालीको विकास गर्न समेत सञ्चारकर्मीले कार्यालय प्रमुखहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा संघ तथा प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुले आर्थिक बर्ष २०८०/०८१ को प्रगति विवरण प्रस्तुत गरेका थिए ।
पत्रकारहरुले उठाएका विषयमा सम्बन्धित कार्यालयले जवाफ दिएका थिए । प्रश्न र जिज्ञासाहरुको समाधानका लागि आफूले आगामी दिनमा पहल गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले प्रतिबद्धता ब्यक्त गरेका थिए ।