३१ असार, पर्वत । कुश्मा नगरपालिका अन्तर्गत पालिका स्तरीय मानवअधिकार एलायन्सको समिति समेत गठन भएको छ । भोलाराज सुवेदीको अध्यक्षतामा गठित १५ सदस्यीय समितिको उपाध्यक्षमा शान्ति लामिछाने र निर्मला नेपाली चयन हुनुभएको छ भने सचिवमा रमेश पौडेल र कोषाध्यक्षमा नारायणी शर्मा चयन हुनुभएको मानव अधिकार एलायन्स जिल्ला समिति पर्वतका सचिव आनन्द पौडेलले जानकारी दिनुभयो ।
सोही अवसरमा स्थापना दिवसकै अवसर पारेर औपचारिक कार्यक्रम पश्चात् पर्वत जिल्ला कारागारमा रहेका कैदीबन्दीहरु समक्ष भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रमका अवसरमा कारागारमा रहेका कैदी बन्दी समक्ष समस्या तथा गुनासोका बारेमा छलफल भएको सचिव पौडेलले बताउनुभयो । उहाँले कारागारमा रहेका कैदीबन्दीहरुले क्षमता भन्दा बढीको संख्यामा बस्नुपर्ने बाध्यता, बर्षायाममा छाना चुहिने समस्या, आवश्यक सीप मुलक तालिमको सहज अवसर नभएको लगायतका गुनासोहरु कैदी बन्दीहरुले गरेको बताउनुभयो । त्यसको समाधानका लागि मानव अधिकार एलायन्सले राज्य पक्षसँग घचघचाउने आश्वासन समेत दिएको बताउनुभयो ।
यसैवीच मानवअधिकार एलायन्स पर्वतको आयोजना तथा इन्सेक पर्वतको समन्वयमा असार ३० गते पर्वतमा मानवअधिकारको अवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार एलायन्सको २५ औँ स्थापनाको दिवसमा पर्वतमा उक्त कार्यक्रम आयोजना भई सम्पन्न भएको हो ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले चालु आर्थिक बर्षको अन्त्य सम्म पर्वत जिल्लामा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाका बारेमा प्र्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा थापाले जिल्लामा चालु आर्थिक बर्षमा ८१ वटा घरेलु हिंसाका घटना घट्नुका साथै महिला, अपांगता, दलित लगायतको क्षेत्रमा भएका मानवअधिकारका घटनाका बारेमा प्रस्टाउनुभएको थियो । थापाले अधिकार प्राप्त गर्नुपर्ने वर्गले सहज रुपमा अधिकार उपभोग गर्न नपाएको विषयमा चर्चा गर्दै त्यस तर्फ नागरिक समाजले समेत दवाव सिर्जना गर्नुपर्ने कुरा औल्याउनुभएको थियो ।
कार्यक्रममा मानवअधिकार एलायन्सका केन्द्रीय सचिव रामचन्द्र पौडेलले मानवअधिकार एलायन्सको लक्ष्य, उद्धेश्यमाथि प्रकाश पार्दै मुलुकमा मावनअधिकारको सम्बद्र्धनका लागि नागरिक समाजको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।
मानव अधिकार एलायन्स पर्वतका अध्यक्ष आशिष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता एवं नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले मुलुकमा मानवअधिकारको रक्षार्थ एलायन्सले महत्वपूणर् भूमिका निर्वाह गरेको बताउँदै जिल्ला तहमा पनि समुदाय स्तरमा पुगेर मानवअधिकारको प्रत्याभूति दिलाउनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले पर्वत जिल्लामा रहेका स्थानीय तहहरु मानवअधिकार सम्बद्र्धनको पक्षमा चासोका रुपमा नदेखिएको बताउँदै मानवअधिकार एलायन्सले यस तर्फ दबाब सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।




