Print

मालढुंगा–बेनी सडक कालोपत्रे हुँदै, असार ८ गते देखि सडक बन्द हुने

७ असार, पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतमा पर्ने मालढुङ्गा बेनी सडक कालोपत्र गर्न शुरु गरिएको छ ।

निर्माण सामग्रीको अभाव लगायत विभिन्न कारण देखाएर ठेकेदार कम्पनीले अलपत्र पार्दै आएको सडक चार वर्षपछि कालोपत्र गर्न शुरु भएको हो । १३ किलोमिटर लामो मालढुंगा बेनी सडक अन्तर्गत अहिले मालढुंगा देखि फर्सेसम्म कालोपत्र गरिने भएको छ । मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले बेस विच्छ्याउने, लोडरले अठ्याउने काम भैरहेको कालीगण्डकी कोरिडोर मालढुङ्गा बेनी जोमसोम कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ ।

जलजला गाउँपालिका वडा नं ८ फर्सेवाट मालढुंगातर्फ पिच गर्दै जाने तयारी भएको आयोजनाका साईड इन्जिनियर अच्युतविलास पन्तले जानकारी दिए । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि झण्डै सात किलोमिटर बाँकी रहने छ ।

भौगोलिक रुपमा कमजोर रहेको दुई किलोमिटर सडक भने पहिलेनै ढलान गरिसकिएको इन्जिनियर पन्तले जानकारी दिए ।

कालोपत्र गर्नका लागि मालढुंगा बेनी सडक १३ दिन बन्द गरिने भएको छ । असार ८ गते शनिवारदेखि असार २० गतेसम्म सडकमा सवारीसाधन संचालन गर्न रोक लगाएर धमाधम कालोपत्र गर्न लागिएको निर्माण कम्पनी एपेक्स खड्का कृष्ण जेभीका प्रतिनिधि नरबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मौसम अनुकुल भएमा १३ दिनमा कालोपत्र गर्ने काम सकिन्छ ।

कालोपत्र गर्ने अवधिमा अत्यावश्यक सवारीका साधन भने संचालन गर्न दिने सहमति भएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको बैठकमा सडक कालोपत्रे गर्ने अवधिमा एम्वुलेन्स, स्कुलबस, दुध तथा तरकारीका गाडीहरुलाई भने निर्वाध चल्न दिईने निणर्य भएको हो । उक्त अवधिमा बागलुङतर्फको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।