६ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाको नगर सभा भोली असार ७ गते हुने भएको छ । नगर कार्यपालिकाको वैठक र विषयगत समितिहरुले बजेट, नीति तथा कार्यक्रमको अन्तिम टुंगो लगाएपछि नगर सभा असार ७ गते हुने भएको हो ।
नगरपालिकाले भोली हुने नगर सभाबाट आगामी आर्थिक बर्षको लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नेछ । जनप्रतिनिधिहरु वीच नीति कार्यक्रम तथा बजेटका सवै विषयहरुमा सहमती भईसकेको छ र मुख्य मुख्य आयोजनाहरुको छनौट समेतको काम सकिएको छ ।
वडा र पालिका स्तरीय आयोजनाहरु मार्फत आगामी बजेटले स्थानीयबासीको मागहरु सम्बोधन गर्ने नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । उनले बजेट निर्माण पूर्व नगरका सवै वडाबासीहरुको गुनासो समेत नगरपालिकाले संकलन गरेका कारण नगरबासीहरुको वास्तविक आवश्यकतालाई मनन गरी आगामी नीति तथा कार्यक्रम ल्याउने बताए ।
यस अघि जनप्रतिनिधिहरु वीचको मतेभदका कारण समयमा बजेट आउन नसकेको नगरपालिकामा यस पटक भने जनप्रतिनिधिहरु वीच समयमै सहमती जुटेको छ । जिल्लाको पहिलो र ठूलो नगरपालिका सदरमुकाममा रहेको नगरपालिका समेत हो । नगर क्षेत्रको विकासका लागि आगामी नगर सभालाई नगरबासीले महत्वका साथ हेरेका छन् ।




