६ असार, पर्वत । जिल्लाका अधिकांश ग्रामीण क्षेत्र खाली हुँदै गएको प्रति प्रदेश सभा सदस्य मित्रलाल बस्यालले चिन्ता ब्यक्त गरेका छन् । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा कार्यक्रममा बस्यालले स्वास्थ्य सेवा प्रभावकारी नहुँदा बसाईसराईको दर बढेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।
बस्यालले जिल्लाको एक मात्र अस्पतालको स्तर बृद्धि अझै हुन नसकेको बताए । उनले हालसम्म पनि ५० शैयाको अस्पताल जिल्लास्तरीय अस्पताल हुन नसक्दा यहाँबाट प्रवाह भएका सेवाहरुले गुणस्तरीय सेवा दिन नसकेको बताए । उनले प्रदेश सरकारले पर्वतसंगै अन्य ३ वटा अस्पताललाई ५० शैयामा स्तरबृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको भन्दै त्यसको लागि आफूले थप पहल गर्ने समेत बताए ।
जिल्लाको अस्पताललाई ५० शैयाको अस्पताल बनाउने र पालिकास्तरीय अस्पतालमा सेवा थप गर्ने काम अवको अभिभारा भएको बस्यालको भनाई थियो । उनले अर्को एक प्रशंगमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको लागि तलब भत्ता बृद्धिको समेत माग गरेका थिए ।
बस्यालले सोहि कार्यक्रममा पर्वतलाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना भएको जिल्ला घोषणा गरेका थिए ।




