Print

शालिग्राम शिला संरक्षण अभियान शुरु


६ जेठ, पर्वत । पवित्र कालीगण्डकीको दोहन सँगै शालिग्राम शिला संकटमा परेपछि शिलाको नामाकरण अभियान शुरु भएको छ । शिला संरक्षणकर्ताहरुले आज मोहिनी एकादशीको दिन पारेर नदी किनारका शिलालाई संरक्षणको अभियान शुभारम्भ गरेका हुन् ।

कालीगण्डकी उत्खनन्को काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समितिले नयाँ शैलीको अभ्यास गर्ने भएको छ । प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले यस्तै अवधारणामा रहेर शालिग्राम शिला पाइने एक मात्र कालीगण्डकी नदीमा नयाँ अभ्यास गरिने भएको छ ।

म्याग्दी सदरमुकाम बेनी बजारबाट करिब चार किलोमिटर टाढा रहेको प्रसिद्ध गलेश्वर धामबाट पर्वत सदरमुकाम कुश्मा बजारसँग जोडिएको पवित्र तीर्थस्थल मोदीवेणीधामसम्मको भागमा रहेका शिलाहरूमा भगवानका नाम लेख्न तयारी थालिएको छ। संरक्षण समितिका जिल्ला अध्यक्ष यज्ञबहादुर थापाका अनुसार आज श्रीकृष्ण मोहिनी एकादशी तिथिको अवसरमा कालीगण्डकी तटमा स्नान सहित भजन कार्यक्रमको आयोजना गरिएको छ ।

यो अभियानमा भर करिब १० हजार भक्तजनहरू यसमा सहभागी हुने अनुमान गरिएको छ । अभियानका जलजला संयोजक तारा रेग्मीका अनुसार एकजना भक्तजनले एकसय आठवटा शिलामा नाम लेख्ने गरी अहिले प्रचारप्रसारको काम चलिरहेको छ । तर इच्छा भएमा यो भन्दा बढी सङ्ख्यामा पनि नाम लेख्न सकिन्छ ।

अहिले कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन । सर्वोच्च अदालतमा यसबारेमा मुद्दा परेपछि अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् नगर्न भनेको छ ।

अदालतले दिएको यो आदेश स्थानीय तहहरूले पालना गरेर आफ्नो आम्दानीको स्रोतलाई बन्द गरेर राखेको भएपनि अवैध रूपमा हुने उत्खनन् भने रोकिएको छैन । अदालतको आदेशले राज्यका निकायलाई उत्खनन्मा रोक लगाएको भए पनि अवैध रूपमा निकाल्नेहरूलाई झनै सजिलो भएको छ ।