७ जेठ, पर्वत । पछिल्लो समय पर्वतका स्थानीय तहका जनप्रतिनिधिहरु जवाफदेहि बन्दै गएका छन् । संघीयता कार्यान्वयनको पहिलो कार्यकालमा सार्वजनिक सुनुवाई कार्यक्रमहरु सञ्चालन नगरेका पालिकाहरुले पनि यस पटक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत जनताको प्रश्नको सामना गरीरहेका छन् ।

पहिलो कार्यकालमा सार्वजनिक सुनुवाई नगरेको कुश्मा नगरपालिका यस पटक सवै वडामा पुगिरहेको छ । नगरपालिकाका प्रमुख उपप्रमुख र सम्बन्धित वडाअध्यक्षहरुले कार्यालयका विषयगत शाखा प्रमुखहरु लिएर जनगुनासो सुन्न वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरीरहेका छन् । जनताका गुनासा सुन्ने, सुझाब ग्रहण गर्ने र प्रश्नको उत्तर दिने अयिभानमा कुश्मा नगरपालिका जुटिरहेको छ । नगरप्रमुख रामचन्द्र जोशीले सवै वडाहरुमा बडाबासीहरुको उत्साहजनक उपस्थितीमा अन्तरक्रियात्मक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम अघि बढेको बताउँछन् ।
उता, जलजला गाउँपालिकाले पनि सवै वडाहरुमा पुगेर जनताको गुनासो सुन्ने कार्यक्रम सञ्चालन गरीरहेको छ । वडाहरुमा भएका विकास आयोजनाहरुलाई प्रचार प्रसार गर्ने, आगामी आर्थिक बर्षका लागि बजेट निर्माणका लागि सुझाब ग्रहण समेत हुने गरी जलजला अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरुले सवै वडाहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरीरहेका छन् । अध्यक्ष राजु आचार्यले सवै वडाहरुमा वडाबासीको गुनासा सुनेपछि योजना तर्जुमा समेत सहयोग पुगेको बताउँछन् ।
जिल्लाको विहादी गाउँपालिकाले गत बर्षको भन्दा अझै परिकृष्ट सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दैछ । गतबर्षहरुमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको विहादीले यस बर्ष भने सवै वडाहरुमा पुग्ने निधो गरेको छ । विहादीका सवै वडाहरुमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका आगामी योजनाहरु समेतको विषयमा छलफल हुनेछ । अध्यक्ष परविन गुरुङले योजना तर्जुमा गोष्ठिको रुपमा समेत सार्वजनिक सुनुवाई कार्यक्रममा अघि बढाउने योजना रहेको बताएका छन् । अध्यक्ष गुरुङले पालिका स्तरीय कार्यक्रम गर्दा भुगोलका कारण सवै जनताको उपस्थिती हुन नसकेको भन्दै वडाहरुमा नै पुगेर पालिकाले गुनासा सुन्ने, सुझाब ग्रहण गर्ने र प्रश्नहरुको उत्तर दिने गरी पालिकाले योजना बनाएको बताउँछन् ।
यसैगरी जिल्लाको पैयू गाउँपालिकाले यस पटक पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरीसकेको छ । पालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जनताका सवै गुनासा सुनेर, जनगुनासो सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उता, महाशिला गाउँपालिकाले पनि सवै वडाहरुमा चालु बर्षका आयोजनाको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । यस अघि मोदी गाउँपालिका र फलेवास नगरपालिकाले पनि पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरीसकेका छन् ।




