Print

पैयूँमा बाँदर धपाउन बजेट


८ चैत, पर्वत । बस्तीहरु रित्तिदैछन् । बसाईसराई र विदेश पलाएनले गाउँ वस्तीमा अचेल भेटिने मानिसहरुको संख्या कम हुन्छ । गाउँमा बस्नेहरुले लगाएको बाली भने बाँदरको नियन्त्रणमा हुन्छ । बर्षभरी खानका लागि लगाउने बालीनालीलाई बाँदरले सखाप पार्न थालेपछि पर्वतको एउटा गाउँपालिकाले हेरालु नियुक्तीको निर्णय गरेको छ ।

पैंयुँ गाउँपालिकाको सोमवार सम्पन्न १३ औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु हेरालु नियुक्त गर्ने निणर्य पारित गरेको गाउँपालिका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार प्रत्येक वडामा ५ जनाका दरले हेरालु राखिनेछ ।

“कुल ३५ जना हेरालुको निर्णय भएको छ” अध्यक्ष ठकुरीले भने । बाँदरको आतंकका कारण खेतवारीमा लगाएको बालीनाली मात्र हैन घर भित्रै पसेर अन्नवाली, पकाएको खाना समेत सखाप पार्ने गरेको छ । केहि वर्ष अघिदेखि बाँदर नियन्त्रणका लागि सवै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरीका रुख कटानी अभियान समेत थालेको भएपनि नियन्त्रण हुन नसकेपछि हेरालो नै नियुक्त गरेर धपाउन थालिएको गाउँपालिकाका अध्यक्ष ठकुरी बताउँछन् । .

कर्मचारी नियुक्त भएपछि चौविसै घण्टा बालीनालीको रेखदेख गर्ने भएका छन् । जुन ठाउँमा बढि बाँदरले हैरानी दिएको छ ति ठाउँहरुमा कर्मचारीलाई बढि मात्रामा परिचालन गरिने उनको भनाई छ । बालीनाली उम्रने बेला र पाक्ने बेलामा हेरालुलाई परिचालन गरिने छ ।

बाँदर हेरालु कर्मचारी नियुक्त भएपछि बाँझै रहेको खेतीयोग्य जमिनमा समेत कृषकले बालीनाली लगाउने अपेक्षा गाउँपालिकाको छ । बाँदरकै आतंकका कारण तीन खेती हुने खेतवारीमा समेत स्थानीयले मुस्किलले धानवाली मात्र गर्छन भने हिउँदको समयमा बाँझै राख्ने गरेका छन् । बाँदर नियन्त्रण योजनाका लागि चालु आर्थिक वर्षमा पालिकाले सात लाख रुपैया समेत बिनीयोजन गरेको छ ।