९ माघ, पर्वत । जिल्लामा क्षयरोगीको संख्या क्रमशः घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार विगतका तथ्यांकहरुका आधारमा क्षयरोगीको संख्या क्रमशः घट्दै गएको हो । गत बर्षहरुको तुलनामा चालु बर्षको फागुन मसान्तसम्म विरामीको संख्या घट्दै गएको छ । गत आर्थिक बर्षमा ७७ जना क्षयरोगी रहेको पर्वतमा अहिले ४३ जना मात्र रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको आर्थिक बर्ष २०७८/७९ मा ६७ संख्यामा रहेका विरामी गत आर्थिक बर्षमा भने बढेका थिए ।
जिल्ला अस्पताल पर्वतका ल्याब टेक्निसियन निरीक्षक उज्ज्वल तिवारीले क्षयरोग लागेको बिरामीले खोक्दा हाच्छ्युँ गर्दा खकारबाट क्षयरोगका कीटाणुहरू हावामा निस्कने र श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा गएर असर गर्ने भएकाले लक्षण देखिएका व्यक्तिहरूलाई स्वास्थ्य संस्थामा लगेर नियमित उपचारको व्यवस्था गराउनु पर्ने बताए ।
क्षयरोग माइकोव्याक्टेरियम ट्युवरक्युलोसिस नामक आँखाले देख्न नसकिने कीटाणुबाट लाग्ने सरुवा रोग भएकोले समुदायमा सहजै फैलन सक्ने सम्भावना बढी रहेका कारण सबै सजक रहन र भिडमा जाँदा सजगता अपनाउन उनले सुझाब दिए ।
स्वास्थ्य कार्यालय पर्वतले विश्व क्षयरोग दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहजकर्ता समेत रहेका तिवारीले रोग रोकथामको बारेमा सहजीकरण गरेका थिए । स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख तेज प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालयका तथ्याकं सहायक रामचन्द्र सुवेदीले गरेका थिए ।






