१० फागुन, पर्वत । जिल्लाको एक मात्र दृष्टिविहिनका लागि अध्ययन हुने शिवालय माविमा अध्ययन कोठाको समस्या परेको छ । विद्यालयमा दृष्टिविहिनका लागि ब्यवस्था गरिएको छात्राबासमा छुट्टै अध्ययन कोठाको अभाव हुँदा विद्यार्थीलाई अध्ययनमा समस्या परेको हो ।
विद्यालयको अनुगमन तथा सामाग्री हस्तान्तरण गर्न पुगेका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीलाई विद्यालयका शिक्षक र विद्यार्थीहरुले यस्तो गुनासो गरेका हुन् । विद्यालयका शिक्षक हरीदत्त शर्माले विद्यार्थीहरुले विहान बेलुका अध्ययन गर्ने कोठाको अभाव रहेको बताए । सोहि विद्यालयका प्रअ भुपेन्द्र चापागाईले विद्यार्थीको छात्राबासमा अलग्लै अध्ययन कोठा नहुँदा विद्यार्थीलाई समस्या पर्ने गरेको बताए ।
कुश्मा नगरप्रमुख जोशीलाई विद्यालयका समस्याहरुका बारेमा जानकारी गराउँदै विद्यालयका शिक्षकहरुले विद्यार्थी सुत्ने कोठामा नै अध्ययन कोठा बनाउँदा अध्ययन कार्यहरु प्रभावित भईरहेको सो अवसरमा बताएका थिए । हाल ९ जना विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा पर्वत जिल्ला बाहेक म्याग्दी र बागलुङका समेत विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।
विद्यार्थीहरुका अध्ययन कार्यमा सहयोग हुने स्लेट हस्तान्तरण गर्दै नगरप्रमुख जोशीले विद्यालयको समस्यालाई समाधान गर्न नगरपालिका तयार रहेको बताए । उनले गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको दायित्व रहेको भन्दै दृष्टिविहिन बिद्यार्थीको अध्यापन कार्यमा हुने कुनै पनि समस्या समाधान गर्न नगरपालिका तयार रहेको समेत बताए ।
विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरुको समेत शैक्षिक गुणस्तरको बारेमा अनुगमन गर्दै विद्यार्थीलाई अंग्रेजी र नेपाली दुवै भाषामा दख्खल बनाउँदै समसामयीक ज्ञानको बारेमा समेत अध्ययन गराउने ब्यवस्था मिलाउन विद्यालय प्रशासनलाई नगर प्रमुख जोशीले निर्देशन दिए ।
नगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर दृष्टिविहिन विद्यार्थीहरुका लागि स्लेट हस्तान्तरण गरेको हो ।




