Print

कुश्मामा ५३ प्रतिशतमा उच्च रक्त्तचाप, १९ प्रतिशतमा मधुमेह


७ फागुन, पर्वत । अनियंत्रित खानपान र ब्यापाम विनाको ब्यस्त जीवन शैलीका कारण पर्वतको कुश्मामा उच्च रक्तचाप र मधुमेह (डाइबेटिज) का विरामीहरु भेटिएका छन् । कुश्मा नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको स्वास्थ्य शिविरमा यस्ता विरामी भेटिएका हुन् । परिक्षण गरिएका मध्ये ५३ प्रतिशत भन्दा बढि ब्यक्तिहरुमा उच्च रक्तचाप भेटिएको छ भने १९ प्रतिशतमा डाइवेटिज अर्थात सुगर रोग देखिएको छ ।

शिविरमा कुल १ सय १६ जना नागरिकले स्वास्थ्य उपचार गराएका थिए । नगरपालिकाकी निमित्त प्रमुख प्रसासकीय अधिकृत डिलकुमारी शर्माका अनुसार महिला ५९ जना र पुरुष ११६ जनाको परीक्षण गरिएकोमा ६१ जनामा उच्च रक्तचाप र २२ जनामा उच्च मात्रामा मधुमेहको समस्या रहेको पाईएको छ ।

स्वस्थ नगरवासीका लागि स्वस्थ्य जीवन शैली भन्ने उद्देश्यले नगरपालिकाले स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

नगर प्रमुख रामचन्द्र जोशीले नगरपालिका भित्र बसोबास गर्ने नागरिकहरुको प्रारम्भिक स्वास्थ्य अवस्था बुझनका लागि शिविरको आयोजना गरिएको जानकारी दिए । जोशीले पछिल्लो समय अस्वस्थ जीवनशैली, तनाव र खानपिनले मानिसमा नसर्ने रोग देखिएको भन्दै बेलैमा उपचार गरेमा रोगबाट जोगिन सकिने बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले नसर्ने रोगमा पर्ने उच्च रक्तचाप र मधुमेहको समस्या बढ्दै गएकाले सचेतनाका लागि कार्यक्रम गरिएको हो ।

शिविरमा जेष्ठ नागरिकलाई बढि प्राथमिकता दिएपनि पौढहरुको पनि स्वास्थ्य परीक्षण गरिएको शर्माले बताए । शिविरमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुले समेत स्वास्थ्य परिक्षण गराएका थिए ।