Print

पर्वत कांग्रेसले महासमिति सदस्य चयन अझै गर्न सकेन

२३ माघ, पर्वत । नेपाली काँग्रेस पर्वतको १४ औँ महाधिवेशन भएको २६ महिना पुरा भयो । यतिका समयसम्म पनि नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले महासमिति सदस्य टुङ्गो लगाउन सकेको छैन । केन्द्रीय महाधिवेशन हुनुअघि नै महासमिति सदस्य छानिइसक्नुपर्ने हो । महाधिवेशन प्रतिनिधिले आफूहरू मध्येबाट महासमिति सदस्य चुन्न सक्ने विधानमा व्यवस्था छ । तर पर्वत भने आकांक्षी धेरै भएको कारण महासमिति सदस्य टुङ्गाउन सकस भएको खबर पत्रकार साजन परियारले गण्डकी सञ्चारमा लेखेका छन् ।

पर्वतमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी सहित २८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छन् । तीमध्येबाट ११ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ । पर्वतमा भने २० जनाले महासमिति सदस्यमा आकाँक्षी देखाएका कारण समस्या भएको नेपाली काँग्रेसका उपसभापति डाक्टर चुडामणि शर्माले बताए ।

महासमिति सदस्यहरुको सर्वसम्मत चयन गर्नका लागि पटकपटक प्रयास गरिएपनि सहमति जुट्न नसकेको उनको भनाई छ । ‘हामीले सहमतिका आधारमा महासमिति सदस्य टुङ्गाउन कार्यदल गठन गरौँ उपसभापती शर्माले भने,‘कार्यदलले पनि टुङ्गाउन सकेको छैन ।,’ शर्माले महासमिति सदस्यहरु आन्तरिक रुपमा छनौट नभएमा निर्वाचनको विकल्प नरहेको बताए । यदि निर्वाचन भएमा जिल्ला अधिवेशनका प्रतिनिधिहरूले नै महासमिति सदस्य चयनका लागि मतदान गर्ने व्यवस्था रहेको उनको भनाई छ । नेपाली काँग्रेस पर्वतले महासमिति सदस्य टुङ्गाउन निर्वतमान सभापति खिमप्रसाद भुषालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदल गठन भएको लामोसमय भएतापनि समितिले नामवली बुझाउन सकेको छैन । कार्यदलमा निर्वतमान सभापति भुषाल सहित समितिको सदस्यमा बसन्त वहादुर सिके र कुलप्रसाद उपाध्याय रहेका छन् ।

कार्यदल समितिका संयोजक भुषालले सहमती प्रयास जारी रहेपनि सहमती जुट्न नसकेको बताए । उनले भने,‘ बैठक बसिराखेका छौँ, अन्तिम चरणमा पुगिएको छ ।,’ निवर्तमान सभापति भुषालले बृहत सहमतीको प्रयास भएका कारण अब छिट्टै नै टुङ्गाउने पु¥याउने बताए । उनले निर्वाचनको सम्भाव नभएकाले सहमतीको प्रयास नै अन्तिम विकल्प भएको बताए ।

महासमिति सदस्यका लागि राधाकुमारी कुवँर क्षेत्री, सिता काफ्ले लामिछाने, मुना भुषाल, रेखा गुरुङ, रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, ऋषिकेश तिवारी, विद्धान गुरुङ्ग, गंगाधर तिवारी, राजेन्द्रप्रसाद तिवारी, बसन्तवहादुर सिके, खिमप्रसाद भुषाल, मुना शर्मा लामिछाने, मिना कुमारी केसी, कुलप्रसाद उपाध्याय, मिना कर्माचार्य, मोहनवहादुर गुरुङ, खैसरा दर्जी, जितवहादुर नेपाली र सनाम बेगमले उम्मेदवारी दर्ता गराएका छन् । यता विमल राज क्षेत्री, तोरण मल्ल ठकुरी ‘राज’, डाक्टर केदार सुवेदी, श्रृजना मल्ल ठकुरी र लेखनाथ पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

महासमिति सदस्यको केन्द्रीय बैठक आगामी फागुन ७ देखि १० गतेसम्म संचालन हुनेछ ।