Print

पर्वतका ९ ग्रामीण सडक बहुबर्षिय ठेक्का मार्फत निर्माण हुँदै


७ माघ, पर्वत । जिल्लाका ९ वटा ग्रामीण सडकहरु बहुबर्षिय ठेक्का मार्फत निर्माण हुने भएका छन् । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत जिल्लाका ९ वटा सडकहरु र एउटा मोटरेवल पुल बहुबर्षिय ठेक्का मार्फत निर्माण गर्न लागेको हो ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीका अनुसार भौतिक पूर्वाधार मन्त्रालयको निर्णय अनुसार जिल्लाका ९ सडकहरुलाई बहुबर्षिय ठेक्का मार्फत कार्यालयले निर्माण गर्न लागेको छ । ९ वटा सडकहरु मध्ये हाल ४ वटा सडकहरुको बजेट स्विकृति भइसकेको अधिकारीले जानकारी दिए ।

जस मध्ये कुश्मा नगरपालिकाको ठुलिपोखरी देखि फलेवासको कार्किनेटा सडक, कार्किनेटा देखि शंकरपोखरी हुँदै खानीगाउँ जैमनी सडक र कुश्माको पकुवा गगटे देखि आर्थक जोड्ने, मोदीको रतीखोला देखि दराक चित्रे हुँदै राम्जा सडक बहुबषिर्य ठेक्का लागि स्विकृत भईसकेका छन् । यी आयोजना मध्ये रतीखोला देखि राम्जा सडकको १३ किलोमिटर सडकको ठेक्का आब्हान भईसकेको छ भने बाँकी आयोजनाहरुको ठेक्का आब्हान प्रक्रियामा छ ।

यसैगरी मल्याङदीखोलामा समेत मोटरेवल पुल निर्माणको लागि बजेट विनियोजन भएको छ ।

यस बाहेक बेउलीबास सडक, तल्लो बाच्छा देखि माथिल्लो बाच्छा जोडने सडक धाइरिङको किराखोर देखि घाहाखेत सडक र मिलन चोक शालिजा समेतलाई बहुबर्षिय बनाउने गरी डिपिआर तयार भईरहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

चालु आर्थिक बर्षका लागि कुल १ अर्ब ८ करोडको बजेट रहेकोमा हालसम्मको बित्तिय प्रगति ६ प्रतिशत मात्र रहेको कार्यालय प्रमुख अधिकारी बताउँछन् । आयोजनाहरु मध्ये अधिकांश ठेक्का प्रक्रियामा गईसकेको र केहि आयोजनाहरु उपभोक्ता समिति मार्फत निर्माण कार्य भएको अधिकारीको भनाई छ ।