५ माघ, पर्वत । जिल्लाको एक मात्र कानून विषयमा अध्ययन हुने फलेवास नगरपालिका वडा न ७ को लिमिठाना माविका विद्यार्थीहरुले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसंग भेट गरेका छन् । संसदीय अभ्यास वर्तमान राजनैतिक दलहरुको संसदीय भूमिकाका विषयमा छलफल गर्न विद्यार्थीहरुले पूवप्रधानमन्त्रीसंग भेट गरेको ओलीको सचिवालयले जनाएको छ ।
भेट पछि ओलीले आफ्नो फेसबुक एकाउन्टमा ट्वीट गर्दै विद्यार्थीहरुले वकिल र न्यायधिस बन्ने सपना बोकेको बताएका छन् । उनले सामाजिक सञ्जालामा पर्वतको लिमिठाना माविका विद्यार्थीसंग भएको भेटले आफूलाई निकै रमाइलो लागेको समेत उल्लेख गरेका छन् ।
विद्यालयमा अहिले ११ जना विद्यार्थी कानुन संकायमा अध्ययरत छन् । विद्यार्थीहरुले कानुन निर्माण त्यसको प्रक्रिया र संसदीय अभ्यासका बारेमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना, कानुन मन्त्री धनराज गुरुङ र एमाले सचेतक महेश बर्तौलासंग भेट गरी कानूनका विषयमा चासो राखेका थिए ।
पछिल्लो समय शिक्षित बेरोजगारहरुको संख्या बढ्दै गइरहेको बेलामा विद्यालयहरुले प्राविधिक विषयमा अध्यापन गराउन शुरु गरेका छन् । कुश्मा नगरपालिकाको वडा न ११ मा रहेको बिरेन्द्र मावि र फलेवास नगरपालिका ४ मुडिकुवामा रहेको माटेदेवल माविले कृषि तर्फको अध्ययन गराउदै आएको छ ।