Print

कुश्मामा बन्दै गरेको विश्वकै ठूलो शिव पार्वतिको मूर्ति निर्माणस्थलमा झण्डै ७ करोड खर्च


२७ मंसिर, पर्वत । गुप्तेश्वर गुफा नजिकै शिव र पार्वतीको विश्वकै अग्लो मूर्ति निर्माणस्थलमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा न ४ चाक्लेको डिल भन्ने ठाउँमा मूर्ति निर्माण स्थलमा पूर्वाधार निर्माणको काम शुरु गरिएको हो ।

संघीय सरकारबाट, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट, गण्डकी प्रदेश सरकार, कुश्मा नगरपालिकाबाट प्राप्त रकम मध्ये हालसम्म जग्गा खरिद सहित ७ करोड रकम खर्च भईसकेको छ । निर्माण ब्यवसायी मार्फत निर्माणको काम भईरहेको यस स्थानमा सवै काम सम्पन्न गर्न अझै १० करोड बराबरको रकम आवश्यक पर्ने समितिले जनाएको छ ।
यस अघि शिव र पार्वतीको विश्वकै अग्लो मुर्ति निर्माण गर्ने लक्ष्य सहित लगाइएको महायज्ञमा झण्डै ४ करोड रकम संकलन भएको थियो । उक्त रकम मध्ये ३ करोड रकम समितिसंग अझै सुरक्षित छ ।

महायज्ञबाट प्राप्त रकमबाट मूर्ति निर्माणका लागि झण्डै ४ रोपनी जग्गा खरिद खरिदएको छ । केहि जग्गा महायज्ञमा जग्गादाताले निशुल्क दिएका थिए भने केहि जग्गा समितिले खरिद गरेको हो ।

मुर्ति निर्माण स्थलमा सिस महल, धर्म शाला र शिव तथा पार्वतिको मूति तथा मन्दिर र पार्कको निर्माण गर्ने सोचको साथ काम शुरु गरिएको गुप्तेश्वर धार्मिक पर्यटकीय विकास संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माले जानकारी दिए ।

कुश्मामा रहेको ऐतिहासिक गुप्तेश्वर गुफा परिसरमा धार्मिक स्थलको थप विकास र विस्तारका लागि यो क्षेत्रमा थप धार्मिक सम्पदाहरुको निर्माण गर्न लागिएको छ । १ सय ८ वटा शिवलिङग सहित पञ्चपाण्डवको मूर्ति समेत यस स्थानमा निर्माण गरिनेछ ।

कुश्मामा धार्मिक पर्यटकीय नगरी बनाउने उद्देश्यका साथ धार्मिक विकासको काममा समितिले काम गरीरहेको अध्यक्ष शर्माले जानकारी दिए ।