Print

नमुना बोडिङमा विद्यार्थी माथि कुटपिट : घाइते विद्यार्थीको उपचार विद्यालयले गर्ने


२८ मंसिर, पर्वत । जिल्लाको एक प्रतिष्ठित नीजि विद्यालयमा विद्यार्थी माथि निर्धात कुटपिट भएको छ । केहि दिन अघि मात्रै इलालटिन खबर अनलाईनले विद्यार्थी माथि कुटपिट भएको समाचार प्रकाशन गरेको थियो ।
कुश्मा नगरपालिका वडा न ६ मा रहेको नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सञ्जन पौडेलले विद्यालयका एक विद्यार्थीलाई निर्धात कुटपिट गरेका थिए । शिक्षक पौडेलले विद्यालयकै कक्षा ७ मा अध्ययनरत छात्र माथि कुटपिट गरेपछि अभिभावकले सो घटनालाई बाहिर ल्याएका हुन् ।

विद्यार्थी माथि कुटपिट गरेका शिक्षक सञ्जन पौडेललाई कारबाहीको माग राख्दै अभिभावकले प्रहरी कार्यालयमा समेत जाहेरी दिने तयारी गरेका थिए । कक्षा ७ मा अध्ययनरत छात्र स्वर्णिम केसीलाई पौडेलेले कुटपिट गरेको अभिभावकले आरोप लगाएका थिए ।

कक्षा कोठामा विद्यार्थीले चुइगम खाएको आरोपमा शिक्षक पौडेलले छात्रलाई कुटपिट गरेको सोहि कक्षामा अध्ययरत विद्यार्थीहरुले बताएका छन् । शिक्षकले छात्रको आँखामा चोट पर्ने गरी कुटपिट गरेपछि उनको उपचार कुश्मा र पोखरामा लगेर अभिभावकले गरेका थिए ।

विद्यालयमा अध्ययन गर्न गएका विद्यार्थी माथि सामान्य विषयमा शिक्षकले ठूलो शारीरिक यातना दिए पछि अभिभावकले भने विद्यालय प्रशासनसंग शिक्षक माथि कारबाहीको माग गरेका थिए । विद्यालयले शिक्षक माथि कारबाही गर्न इन्कार गरेपछि अभिभावक प्रहरीकोमा पुगेका हुन ।

समाचार श्रोतलाई प्राप्त सार्वजनिक विज्ञप्तिमा पनि प्रहरी कार्यालयमा अभिभावक र विद्यालय वीच सहमती भएको उल्लेख छ । सहमती बमोजीम पिडित विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालयले ब्यवस्थापन र सहजीकरण गर्दै, सम्बन्धित बिद्यार्थीलाई सहज वातावरणमा पठनपाठन गराउँदै आगामी दिनमा आवश्यक रेखदेख र अध्ययनका लागि नियमित प्रोत्साहन गर्ने कुरा उल्लेख छ । यसैगरी विज्ञप्तिमा विद्यालयलयलाई बालमैत्री बनाउने विषय पनि उल्लेख छ ।