Print

पर्वतमा कांग्रेसको प्रथम क्षेत्रीय सम्मेलन, महामन्त्री थापाले सम्बोधन गर्ने


२६ मंसिर, पर्वत । नेपाली कांग्रेस पर्वतको क्षेत्रीय क को सम्मलेन आगामी पुष १ गते आयोजना गरिएको छ । सम्मेलनको कांग्रेस महामन्त्री गगन थापाले सम्बोधन गर्नेछन् ।

नेपाली कांग्रेसको विधान अनुसार नगर तथा गाउँ स्तरीय सम्मेलनहरु सकिएपछि क्षेत्रीय सम्मेलनको आयोजना गर्नुपर्छ । कांग्रेसले नयाँ विधान बमोजीम गर्न लागेको क्षेत्रीय सम्मेलन पूर्व प्रदेश क का पालिकाहरुको सम्मेलन सकिएको छ । यस अघि जलजला गाउँपालिकामा दर खाने कार्यक्रमको नाउँमा पालिका स्तरीय सम्मेलन सम्पन्न गरेको कांग्रेसले मोदी गाउँपालिमा गणपुरकसंख्या नै नपुराइकन सम्मेलन सम्पन्न गरेको थियो ।

कुश्मामा सम्पन्न सम्मेलनले पनि वैचारिक विषयहरुमा छलफल हुन पाएको थिएन । कांग्रेसले आयोजना गरेका नगर तथा गाउँ स्तरीय सम्मेलनहरुमा विधान बमोजीमको वैचारिक कार्यदिशाको विषयमा छलफल नभएको स्वयम् कांग्रेस नेताहरुले बताउँदै आएका छन् । सम्मेलनमा प्रतिवेदनहरु प्रस्तुत हुने र सो प्रतिवेदन उपर छलफल सहित कांग्रेसको भावी कार्यदिशा निर्धारण गर्नुपर्नेमा सम्मेलनहरु औपचारिक मात्र हुने गरेका छन् ।

प्रदेश क अन्तर्गतको क्षेत्रीय सम्मेलन आगामी पुष १ गते कुश्मा बजारमा आयोजना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री थापा आउने आयोजक क्षेत्रीय कमिटिले जनाएको छ । सम्मलेनमा कुश्मा नगरपालिका, जलजला गाउँपालिका तथा मोदी गाउँपालिकाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।