Print

सकमवरी !

–ओमप्रसाद घायल

निरन्तर पढिनै रहेकोछु

अहिलेपनि म तिमीलाई

र तिम्रा कविताहरूलाई

हे सकमवरी !

तर हारेर बाँच्न गाह्रो हुँदोरहेछ प्रेममा ।

हिजोआज

तिम्रा अक्षरहरुमा पोखिएको छ

वेहद आँसुको दर्द,

र रगतपच्छे भएका छन् तिम्रा कविताका हरफहरु पनि ।

मेरो अनुपस्थितिमा तिमी जतिनै

सुखी भएको गीत लेखिराख

तर प्रत्येक लयहरुमा

मैले सुनिरहेको छु तिम्रो विछोडको विलौना ।

पुरानो घाउ कोट्टाएर

आफैलाई रक्ताम्य बनाउँदै गरेको

तिम्रो शोकविस्मित अनुहार

किन प्रकट भइरहन्छ मेरो आँखाको क्यानभासमा ।

सकमवरी !

तिमीले दिएका आगोका फूलहरुलाई

मैले खेलाइरहेकोछु हातभरि

मैले सुम्सुमाइरहेकोछु मनभरि

र तिनै आगोका फिलिङ्गाहरुमा

जलेका हातका औलाहरुले

अहिलेपनि छामिरहेको छु आफ्नै मनमा तिम्रो अनुहार ।

सकमवरी !

यतिखेर निकै दुखिरहेको छ मेरो मुटु

निकै बढिरहेकोछ मेरो धड्कन

र यो विछोडको अँधेरीमा

हामी आफैलाई पात्र बनाएर

लेखिरहेकोछु मैले पनि निरन्तर

सम्बन्ध छुटेका कथाहरु ।

तर जतिनै

प्रयास गरेपनि सकमवरी !

हारेर बाँच्न नसकिँदोरहेछ प्रेममा ।

लेखक घायल पर्वत जिल्लाबाट पत्रकारिता र साहित्यमा सक्रिय छन् । samakalinsahitya.com मा प्रकाशित कविता