Print

सदरमुकामबाट आफ्नै गाउँमा जाँदा २ जिल्ला घुम्छन जलजलाबासी


१९ भदौ, पर्वत । उत्तर दक्षिण सडक खण्ड अन्तर्गत पर्वत जिल्लाको मालढुंगा देखि वेनीबजारसम्मको सडक जिर्ण बन्दा यहाँका स्थानीयले सास्ती बेहोर्नु परेको छ । जिल्लाको जलजला गाउँपालिका अन्तर्गत पर्ने झण्डै १३ किलोमिटर सडक खण्ड विगत २ बर्ष देखि जिर्ण छ । स्तरोउन्नतीको चरणमा रहेको उक्त सडक खण्ड जिर्ण बन्दा यहाँको यात्रा कष्टकर हुने गरेको छ ।

पर्वतको जलजला गाउँपालिकाका स्थानीयले जिर्ण र कच्चि सडक भएका कारण बागलुङ र म्याग्दी जिल्ला हुँदै सदरमुकाम कुश्मा बजार देखि यात्रा गर्न स्थानीय बाध्य भएका छन् । मालढुंगा देखि वेनी खण्डको सवै भाग कच्चि बनेपछि मालढुंगा देखि बागलुङबजार म्याग्दी रत्नेचौर हुँदै म्याग्दीको वेनीबजारसम्मको सडक प्रयोग हुने गरेको छ ।

१३ किलोमिटर सडक कच्चि बनेपछि ३० किलोमिटरको लामो दुरी पार गरेर अचेल सवारीहरु चल्ने गरेका छन् । जलजला गाउँपालिकाबाट सदरमुकाम कुश्मा हुँदै अयन्त्रको यात्रा गर्न स्थानीयबासीले लामो दुरीको यात्रा तय गर्न बाध्य भएका छन् ।
जलजला गाउँपालिकामा पर्ने सवै सडक निर्माणधिन अवस्था छ । कालीगण्डकी करिडोर अन्तर्गतको उक्त सडक निर्माणको क्रममा रहेकाले उक्त सडक यात्रा कष्टकर बनेको छ । २ बर्षमा निर्माण सम्पन्न हुनुपर्ने उक्त सडक निर्माण ब्यवसायीले अलपत्र छाडेपछि अहिले झनै कष्टकर बनेको हो ।

एपेक्स खडका कृष्ण जेभीले ५२ करोड ८६ लाखको लागतमा निर्माणको जिम्मा लिएको छ । २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी २०७७ साल चैत महिनामा ठेक्का सम्झौता गरे पनि सडकको ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सडक निर्माणको क्रममा नदीजन्य वस्तुहरु उत्खनन्मा रोक लगाइए पछि निर्माण ब्यवसायीले निर्माणको काम छाडेका हुन् । निर्माण ब्यवसायीले निर्माणको काम छाड्दा सडक अलपत्र अवस्थामा छ ।