१८ भदौ, पर्वत । मोटरसाइकल, स्कुटर ठाउँ–ठाउँमा हिलोमा गड्छन् । ट्याक्सीसहित साना सवारी हिलाम्य तालमा डुबेर पार गर्नै मुस्किल हुन्छ । ठुला सवारी उफ्रदै हम्मेहम्मे चल्न बाध्य छन् ।
सडकको किनारामा पैदल हिँडेका सर्वसाधारण सवारीले छेपेर हिलैहिलो भएका देखिन्छन् । यो दुदर्शासुनौली–कोरला सडक अन्र्तगतको मालढुंगा–बेनी सडकको हो ।
साढे दुई बर्षअघि सम्झौता गरेको निर्माण कम्पनीले समयमा काम नगर्ने र निर्माणका क्रममा भएका खाडल नपुरी दिँदा अहिले मालढुंगा–बेनी सडकको हालत निकै खराव भएको छ । ठाउँठाउँमा भएका ठुल्ठुला खाडलमा बर्षातको पानी भरिदा यात्रा निकै कष्टकर बन्ने गरेको छ ।
म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिका प्रवेश गर्ने मुल सडक भएपनि सरकारी निकायले निगरानी र निर्माण कम्पनीसंग पहल नगरिदिदा त्यसक्षेत्रको आवतजावत गर्ने यात्रुको निकै जोखिमपूर्ण यात्रा हुने गरेको छ । यो सडक स्तरोन्नतीका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
साना ठुला गरी दैनिक हजारको संख्यामा सवारी आवतजावत गर्ने यो सडकमा लामो समयदेखि यात्रु तथा सर्वसाधारणको गुनासो आएपनि पर्वत प्रशासन र कालीगण्डकी करिडोर कार्यालय जोमसोमले वेवास्ता गर्दै आएका छन् । शुभ सन्देश साप्ताहिकले खबर प्रकाशन गरेको छ ।




