२८ पुस, म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ। पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको छ।
बेनीको खुलामञ्चमा सञ्चालन भएको प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७९ को अवसरमा विभिन्न जातजाति, संघ संस्थाहरूले पहिचान झल्कने झाँकी निकालेका हुन्। महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन्।
महोत्सवमा काली गण्डकी नदीमा र्याफ्टिङ र म्याग्दीका मुख्य पर्यटकीय स्थलहरुमा हेली सयरको समेत व्यवस्था गरिएको छ। महोत्सवको अवसरमा पालिकास्तरीय महिला(पुरुष भलिबल, लोकदोहोरी, गण्डकी लोकतारा, पुरुष बाँस्केटबल, लठो तान्ने, रत्यौली, पुख्र्यौली, छेलो फाल्ने, अन्धनिशान लगायतका प्रतियोगिता आयोजना गरिएको संघका महासचिब अमित बानियाँले जानकारी दिए। महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुको समेत साँगेतिक प्रस्तुती रहने छ।
महोत्सवमा म्याग्दीको पहिचान झल्कने तस्बिर पदर्शनी संगै पालिका स्तरमा उत्पादित उपज तथा उत्पादित सामाग्रीको विक्रि र पदर्शनका लागि समेत स्टल राखिएका छन्। महोत्सवमा स्थानीय उत्पादनको पदर्शनी तथा बिक्री तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि स्टलहरु राखिएको संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए।
महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने उनको भनाई छ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा रु १ करोड ४० लाख आम्दानी र रु १ करोड खर्च हुने अनुमान गरिएको छ। करिब डेढ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवालोकन गर्ने अनुमान गरिएको महोत्सवमा करिव १० करोड बराबरको ब्यावसायिक आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ।
तत्कालिन समयमा मनोरञ्जन र व्यापार व्यवसायका लागि आयोजना हुने परम्परागत माघे संक्रान्ति मेलालाई संरक्षण र जगेर्ना गर्नका लागि २०५७ सालदेखि म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्वमा मेला र महोत्सव आयोजना गर्न थालिएको समाचार नयाँ पत्रिकामा कमल खत्रीले लेखेका छन् ।




