१९ साउन, पर्वत । जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीमा अवैध उत्खनन् गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार नदीमा उत्खनन् गरीरहेका मेसिन उपकरण तथा सवारी साधनलाई सिल गरी त्यसका चालकलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले ३ स्काभेटर, १ डोजर र १ वटा ट्याक्टरलाई नियन्णमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सशस्त्र प्रहरी उपरिक्षक नरेन्द्र बम तथा प्रहरी प्रमुख बुढाथोकी सहितको टोलीले अनुगमन तथा निरिक्षण गर्ने क्रममा ति सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बर्षात अवधि शुरु भएदेखि अवैध रुपमा नदी उत्खनन गर्ने ३२ वटा सवारी साधन ( टिपर, ट्याक्टर र स्काभेटर ) लाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन् भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालीकाका बिभिन्न स्थानबाट उक्त सवारी साधनहरु नियन्त्रणमा लिएको हो ।
कालिगण्डकी नदीको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका टिपर ५ वटा, स्काभेटर ९ वटा र ट्याक्टर १८ वटा गरी जम्मा ३२ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि कुश्मा नगरपालिकाको कार्यालय पर्वतमा पठाइएको प्रहरीले जनाएको छ । ती सवारी धनीले नगरपालिकालाई पटक– पटक गरी जम्मा राजश्व पाँच लाख दुई हजार पाँच सय रुपैयाँ जरिवाना तिरेका छन् ।
जरिवाना तिरेको रसिदका आधारमा मात्रै प्रहरीले धनीलाई सवारी फिर्ता लैजान दिएको र केही सवारी साधनहरुले जरिवाना रकम तिर्न अझै बाकी रहेकोले यस कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




