५ असार, पर्वत । जिल्लामा विद्युत प्रसारण पटक पटक अवरुद्ध हुने गरेको छ । विगत केहि महिना देखि विद्युत सेवामा पटक पटकको अवरोधले धेरै क्षेत्र प्रभावित भएको छ । नेपाल विद्युत प्राधिकरणको कुश्मा वितरण केन्द्रले भने यो समस्या राष्ट्रिय समस्या रहेको उल्लेख गरेको छ ।
वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीले वितरण केन्द्रको १३२ केभि लाइनको समस्याका कारण पनि यस्तो अवस्था सृजना भइरहेको बताए । उनले यो समस्या पर्वत जिल्लाको मात्र नभई राष्ट्रिय रुपमा नै भईरहेको कारण तत्काल समाधानको अवस्था नरहेको उल्लेख गरे । एक दिनमा बढिमा १२ पटकसम्म विद्युत सेवा अवरुद्ध भएको रेडर्क वितरण केन्द्रसंग रहेको गोशेलीको भनाई छ । उनले समस्या समाधानका लागि स्थानीय स्तरमा प्रयास भईरहे पनि पछिल्ला महिनामा हावाहुरी र बर्षातका कारण पनि समस्या देखिएको उनले बताए ।

प्राधिकरणले घोषित रुपमा लोडसेडिङ नभने पनि कतिपय समय लोडसेडिङको झल्को जाने गरी विद्युत अवरुद्ध भएको भन्दै सदरमुकामका ब्यवसायीहरुले त्यसको विरोध गर्दै आइरहेका छन् । लामो समय विद्युत अवरुद्ध हुँदा दुधजन्य ब्यवसायलाई प्रत्यक्ष रुपमा समस्या परेको भन्दै पर्वत डेरी एसोसिएसनका पदाधिकारीहरुले वितरण केन्द्रका प्रमुख मार्फत यस अघि ध्यानाकर्षण समेत गराएका थिए ।
पूर्व घोषित बाहेकको समयमा समेत विद्युत अवरोध हुँदा स्वास्थ्य सेवामा समेत प्रभाव पर्दै आइरहेको मेडिकल सञ्चालकहरुको भनाई छ । ल्याव र एक्सरे सेवा पटक पटक अवरुद्ध भएको र मेसिनहरुमा समेत समस्या सृजना हुन लागेको ब्यवसायीले गुनासो गरेका छन् । वितरण केन्द्रका प्रमुख गोशेलीले जिल्ला बाहिरको मौसमको समस्याका कारण पनि प्रसारण लाईनमा समस्या आउने गरेको र त्यसको प्रभाव जिल्लामा पर्ने गरेको उल्लेख गरे । समस्या समाधानका लागि आफूहरुले प्रयास गरीरहेको कार्यालय प्रमुख गोशेलीको भनाई छ ।
आजको अर्थ वीट साप्ताहिकमा खबर छ




