Print

पर्वत कांग्रेसमा आन्तरीक किचलो सामाजिक सञ्जालमा छताछुल्ल

३० जेठ, पर्वत । जिल्लामा नेपाली कांग्रेसको आन्तरीक विवाद उत्सर्षमा पुगेको छ । जिल्ला अधिवेशनमा पराजीतहरुलाई पाटीले उचित स्थान नदिएको भन्दै उपविजेताहरुले यस अघि नै असन्तुष्टि राख्दै आइरहेका थिए । त्यो असन्तुष्टिलाई स्थानीय तहको निर्वाचनले थप मलजल गर्यो । जिल्ला अधिवेशन र स्थानीय तहको निर्वाचनमा देखिएको चरम असन्तुष्टि यति बेला सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा माओवादीसंग गरेको गठबन्धनको विरोध यस अघि पनि हुँदै आइरहेको थियो । निर्वाचनमा कांग्रेस भित्रकै नेताहरुलाई पाखा लगाउनका लागि जिल्लामा गठबन्धन गरिएको स्वयम् नेताहरुको टिप्पणी थियो ।

निर्वाचनमा गठबन्धन पछि टिकट वितरणमा समेत असन्तुष्टि देखियो । कांग्रेसका प्रदेश कमिटि सदस्य यामबहादुर मल्लले सामाजिक सञ्जालमा जिल्ला नेतृत्वको खुलेरै विरोध गरेका छन् । उनी जिल्ला सभापतिका उमेदवार समेत थिए । निर्वाचनमा पराजीत भएकै आधारमा आफू माथि जिल्ला नेतृत्वले चरम अपमान गरेको मल्लको भनाई छ । उता, सभापति पदका आकाक्षी मिलन सुवेदीले समेत जिल्ला नेतृत्वले सवै पक्षलाई समेट्न नसकेको भन्दै टिप्पणी गरेका छन् ।

केहि दिन अघि जिल्ला पाटी कार्यालयको एक औपचारिक कार्यक्रममा जिल्ला नेतृत्वले केहि नेताहरुलाई उच्च प्राथमिकतामा सम्मान गरेको तर, पदीय मर्यादाक्रम भन्दा माथि रहेका नेता माथि नेतृत्वले अपमान गरेको नेताहरुको आरोप छ । औपचारिक कार्यक्रममा नै केहि नेताहरुले ब्यक्तिगत रुपमा इंकित गरी आरोप प्रत्यारोप गर्न थालेपछि कांग्रेस भित्रको किचलो उत्कर्षमा देखिएको हो ।

यस अघि नगर र जिल्लाले उमेदवार सिफारिसमा समेत पक्षपात गरेको भन्दै कुश्मा नगरपालिका भित्र विवाद भएको थियो । संस्थापक नगर प्रमुख रामचन्द्र जोशीले दोस्रो पटक मेयर हुने इच्छा ब्यक्त गरे पनि उनको नाम नगर र जिल्लाले सिफारिस गरेको थिएन् । प्रदेशबाट टिकट ल्याएका जोशीले दोस्रो पटक पनि मेयर जितेका छन् ।

उता, कुश्मा नगरपालिका भित्र उपप्रमुख गठबन्धनको तर्फबाट माओवादीको कोटामा परेको विषयमा समेत कांग्रेस भित्र असन्तुष्टि छ । जलजलामा दोस्रो कार्यकाल दोहोरिन चाहेका संस्थापक पालिका अध्यक्ष यामबहादुर मल्लले टिकट नपाए पछि मल्ल सहितको समूह समेत नेतृत्व पछि असन्तुष्ट छ ।

निर्वाचन लक्षित गतिविधिहरुमा असन्तुष्टि जनाउँदै नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा अभिब्यक्तिहरु छताछुल्ल हुँदा पनि पाटीको नेतृत्व भने मौन रहेको छ ।